काठमाडौं । नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा नेपाल शान्तिपूर्ण बाटोमार्फत समाजवादतर्फ अघि बढिरहेको बताएका छन् ।
सचिव भट्टराईले आफूहरुले शान्तिपूर्ण प्रक्रियामार्फत नेपाली जनताको बलियो समर्थनसहित समाजवाद हासिल गर्न चाहेको तर नेपाल त्यसैतर्फ अघि बढेको बताएका हुन् ।
‘सोसियल साइन्स एकेडेमी’ अर्थात् चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानको आयोजनामा बेइजिङमा आयोजित १४औं विश्व समाजवाद फोरममा एमाले सचिव भट्टराईले जबज नेपाली भूमिमा मार्क्सवादको सिर्जनात्मक प्रयोग रहेको र त्यसैको आलोकमा समाजवाद हासिल गर्न चाहेको बताए ।
‘नेपालमा हामी समाजवाद उन्मुख संविधान स्वीकार गर्दै सामाजिक-आर्थिक असमानतालाई सम्बोधन गर्न अघि बढिरहेका छौं, जसमा प्रमुख राजनीतिक दलहरूको सामूहिक विवेक समावेश छ,’ उनले भने ।
नेकपा (एमाले) ले स्वार्गिय कमरेड मदन भण्डारीको नेतृत्वमा ‘जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त विकास गरेको उनले स्मरण गरे । जबजको मार्गदर्शनमा शान्तिपूर्ण माध्यमबाट नेपाल समाजवादतर्फ अघि बढिरहेको उनले बताए ।
‘जबज नेपाली अभ्यास र नेपाली भूमिमा मार्क्सवादको रचनात्मक प्रयोगमा आधारित छ । हामी शान्तिपूर्ण प्रक्रियामा जनताको बलियो समर्थनसहित समाजवाद हासिल गर्न चाहन्छौं । यो नयाँ युगको नेपाली मोडेल र विशेषताहरूको क्रान्ति हो,’ उनले भने ।
सचिव भट्टराईले चिनियाँ समाजवादको मोडेल सफल रहेको र चीनबाट अझ धेरै कुरा सिक्न चाहेको बताए । ‘चिनियाँ समाजवादको मोडेल सफल छ । हामी चीनबाट अझ धेरै कुरा सिक्न चाहन्छौं । म तपाईं चिनियाँ कमरेडहरूलाई चिनियाँ कम्युनिस्ट पार्टी र राष्ट्रपति सी जिनपिङको नेतृत्वमा हासिल गरेको ठूला सफलताका लागि धन्यवाद दिन चाहन्छु,’ उनले भने ।
सचिव भट्टराईले नेपालले २०१७ मा समृद्धि र विकासको अपेक्षासहित बीआरआईमा हस्ताक्षर गरेको र बीआरआईबाट ठोस लाभ प्राप्त गर्नेमा आशावादी रहेको बताए । ‘पुनः एकपटक, म हाम्रो देश र पार्टीको दीर्घकालीन एक चीन सिद्धान्तप्रतिको प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । नेपालले २०१७ मा समृद्धि र विकासको अपेक्षासहित बीआरआईमा हस्ताक्षर गरेको थियो । हामी आशावादी छौं कि आगामी दिनहरूमा बीआरआईबाट ठोस लाभ प्राप्त गर्नेछौं,’ उनले भने ।
सचिव भट्टराईले जलवायु परिवर्तनको प्रभाव विश्वको प्रमुख चुनौती रहेको र जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी लडाइँ न्यायसंगत हुनुपर्ने बताए ।
बेइजिङमा जारी १४औं विश्व समाजवाद फोरममा विश्वका ३० देशका कम्युनिष्ट नेता, माक्र्सवादी बुद्धिजीवि, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता गरी ५० विदेशी अथिति र चिनियाँ नेता, प्राध्यापक, बुद्धिजीविसहित १५० भन्दा बढी सहभागी छन् ।