• Menu

झापामा लागुऔषधको कारोबार बढ्दो, एक हजार एक सय पाँच जना पक्राउ

नेपाल प्रफिट

२०८१ भदौ २५, १५:४०

झापामा लागुऔषधको कारोबार बढ्दो, एक हजार एक सय पाँच जना पक्राउ

झापा । स्थानीय प्रशासनले ३ वर्षमा लागुपदार्थ कारोबारमा संलग्न एक हजार एक सय पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ सम्ममा ४.५ किलो ब्राउन सुगर र ९६.५ किलो गाँजा बरामद भएको छ । ३ वर्षमा पक्राउपर्नेमा एक हजार ९ पुरुष र ९६ महिला रहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालयका विभिन्न युनिट अन्तर्गत पक्राउ परेकाका विरुद्धमा आव २०७८/७९ मा २ सय मुद्दा, आव २०७९/८० मा २ सय ६ मुद्दा, आव २०८०/८१ मा २ सय ९७ मुद्दा गरी ३ वर्षमा ७ सय ३ मुद्दा दर्ता भएका थिए । भारतसँगको खुला सिमानाका कारण कडाइ गर्दा पनि प्रत्येक वर्ष लागुपदार्थ दुव्र्यसन र कारोबारीको संख्या बढदै गएको प्रहरी नायब उपरीक्षक चन्दको भनाइ छ ।

प्रहरीका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै प्रहरीले ४ सय २९ पुरुष र ३३ महिला गरी ४ सय ६२ जनालाई लागुऔषधको सेवन तथा कारोबार गर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । उनीहरुका साथबाट प्रहरीले २ किलो ब्राउन सुगर र २८.५ किलो गाँजा बरामद गरेको हो ।

यसैगरी झापा प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा ३ सय ७ र आर्थिक वर्ष २०७९/८० मा ३ सय ३६ मानिस लागुऔषधको अवैध कारोबारमा संलग्न रहेको अवस्थामा पक्राउ परेका थिए ।