काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा आईएफसी दक्षिण एसियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले नेपालमा लगानी विस्तार गर्न तयार रहेको जानकारी दिएका हुन् ।
आईएफसीले गत वर्ष नेपालमा १० करोड अमेरिकी डलर लगानी गरेको थियो । क्षेत्रीय निर्देशक फाखौरीले हरित ऊर्जा, रोजगारी वृद्धि र आर्थिक सहभागिता आईएफसीको प्राथमिकतामा रहेको उल्लेख गरे । उनले नेपालमा लगानी फराकिलो पार्न आफू र आफ्नो टिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
त्यसअघि अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र सुधारका लागि थप लगानी आवश्यक रहेको बताएका थिए । उनले नेपालको प्राथमिकता र आवश्यकतालाई ध्यान दिएर लगानी विस्तार गर्न आग्रह गरेका थिए ।