सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ गरेर भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम अघि बढाउने बताएका छन् । सिरहाको कर्जन्हा नगरपालिकामा आयोजित पार्टी कार्यकर्ता तथा स्थानीयबासीसँगको भेटघाटका क्रममा उनले त्यसकै लागि आफूहरु देशव्यापी बैठक र छलफलमा जुटेको जानकारी दिए ।
पार्टीको मधेस प्रदेशस्तरीय परामर्श बैठकमा भाग लिने क्रममा सिरहा पुगेका अध्यक्ष प्रचण्डले मुलुकको अहिलेको ठूलो समस्या भ्रष्टाचार भएकाले जनतालाई साथमा लिएर भ्रष्टाचारी र माफियाविरुद्ध देशव्यापी आन्दोलन गर्ने बताए ।
‘तपाईंहरुले देखि नै हाल्नुभयो, भ्रष्टाचारविरुद्ध केही गर्न खोज्दा सरकार नै परिवर्तन गर्नेसम्मको खेल भयो,’ उनले भने, ‘हामी सरकारको नेतृत्व गर्दा केही नयाँ काम सुरु गरेका थियौं । सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध हामीले थालेको अभियानबाट भूमाफियाहरु आत्तिए । जसले सरकारी जग्गा व्यक्तिका नाममा लैजाने अपराध गरिरहेका थिए, उनीहरु छट्पटाए ।’
मिटरब्याजलगायतका तमाम बेथितिविरुद्ध आफूहरुले सरकारबाट संकल्पका साथ संघर्ष सुरु गरेको उनले स्मरण गरे । ‘त्यसबाट दलाल, सामन्तवादका अवेशष, भूमाफिया र नोकरशाहीहरु हामीसँग आतंकित भए । माओवादी केन्द्रका नेताहरुले विस्तारै हामीलाई त खतमै पार्ने भए भनेर भ्रष्टाचारी जति सबै डराए,’ उनले भने ।
कांग्रेस र एमालेलाई आफ्नो नेता ठानेर भ्रष्टाचारी र विचौलियाले जुटाइदिएको प्रचण्डको आरोप छ । सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध लडाईं लडेकाले आफूहरु विजेता कमान्डरजस्तो गरी निस्किएको उनले बताए ।
‘तर कांग्रेस एमाले कायरजस्तो गरी सरकारमा गए,’ अध्यक्ष प्रचण्डले भने, ‘अब हामी पार्टी सुदृढ गरेर देशैभरि पार्टी पुनर्गठन गर्दै बलियो पार्टी बनाएर भ्रष्टाचारका विरुद्ध तलैबाट आन्दोलन सिर्जना गर्ने सोचमा छौं । पहिले पार्टी बलियो बनाउने र बलियो पार्टीका आधारमा देशव्यापी रुपमा भ्रष्टाचारविरोधी आन्दोलन सुरु गर्ने सोचिएको छ ।’
आफ्नो पार्टीले अघि सारेको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक एजेन्डाप्रति मधेसी जनसमुदायको अपार विश्वास भएको उनले बताए । यो विश्वासलाई कमजोर हुन नदिएर सोहीअनुसार पार्टी संगठन र नेतृत्व स्थापित गरेर जाने प्रतिबद्धता उनले जनाए ।
पार्टीलाई मधेसमा थप एकताबद्ध र सुदृढ बनाउँदै पहिलो पार्टीको रुपमा स्थापित गरेर स्थानीय, प्रदेश र संघीय सरकारमा सशक्त हस्तक्षेप बढाउन पनि मधेस प्रदेशको महत्वपूर्ण भूमिका रहने उनको विश्वास छ ।
मंगलबार बिहान अध्यक्ष प्रचण्डले गोलबजार र मिर्चैयाका पार्टी कार्यकर्ता तथा स्थानीयबासीसँग छलफल गरेका थिए । सोमबार साँझदेखि सप्तरी हुँदै मधेस प्रदेश प्रवेश गरेका उनी बुधबारसम्म मधेसमै रहनेछन् ।