• Menu

बाँकेका एक सय पाँच कैदीबन्दी स्वअध्ययन गर्दै

नेपाल प्रफिट

२०८१ भदौ २४, १६:२६


बाँके । बाँके जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दी तथा थुनुवाले पनि स्वअध्ययन गरिरहेका छन् । कारागारमा रहेका एक सय ५ कैदीबन्दीले स्वअध्ययन गरिरहेका कारागार प्रशासन नेपालगञ्जले जनाएको छ ।

संघीय सरकारले तोकको मापदण्ड र पाठ्यक्रमअनुसार कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि स्नातकोत्तर तहसम्म सम्बन्धित विश्वविद्यालयबाट परीक्षा दिने गरी कैदीबन्दी तथा थुनुवाले अध्ययन गरेका कारागारका प्रधानाध्यापक ज्योतिप्रकाश पौडेलले जानकारी दिए ।

कैदीबन्दीलाई पौडेलबाहेक कारागारभित्रका अन्य २ बन्दीले अध्ययन गर्न सहयोग गरेका छन् । पौडेलले १८ देखि ५५ वर्षसम्मका कैदीबन्दीले कारागारमा स्वअध्ययन गरिरहेका जानकारी दिँदै नैतिक शिक्षाका बारेमा पनि अध्यापन थालिएको बताए । ‘परीक्षाको फर्म खुलेको समयमा फर्म भरेर बन्दीले सम्बन्धित परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन्छन्,’ उनले भने ।

जुम्ला, कालीकोट, दैलेख, रुकुम, सल्ल्यानलगायत जिल्लामा रहेका विद्यालयमा आबद्ध भएर उनीहरुले नेपालगञ्जस्थित परीक्षा केन्द्रबाट परीक्षा दिएका पौडेलको भनाइ छ । स्वअध्ययन गरेर कैदमुक्त भएपछि आफ्नो पेसामा लाग्न सजिलो हुने उल्लेख गर्दै उनले बन्दीले आवश्यकताअनुसार पढ्दै गएका बताए ।

पढ्ने कैदीबन्दी तथा थुनुवाहरुमध्ये लागुऔषध दुर्वसन मुद्दामा कारागारमा रहेका धेरै छन् । २०५० सालदेखि सो कारागारमा अध्ययन, अध्यापन हुँदै आएको पौडेलले जानकारी दिए । ‘पढ्नेहरुको संख्या बढी हुँदा कक्षा लिन असजिलो भएको छ,’ उनले भने ।

कारागारभित्र कक्षा १ मा पढने २५, कक्षा २ मा २०, कक्षा ३ मा १५, कक्षा ४ मा २० र ५ कक्षामा १५ जना छन् । यसबाहेक १० जना कक्षा ६ देखि स्नातकोत्तर तह अध्ययन गर्नेछन् । उनीहरुलाई जीवन उपयोगी शिक्षाका साथसाथै योग र ध्यानका कक्षा पनि आवश्यक भएको पौडेलले बताए । कैदीबन्दी तथा थुनुवालाई बुद्धसँग सम्बन्धित पाठ्यपुस्तक परीयति शिक्षासमेत प्रदान गरिएको उनले जानकारी दिए ।

जिल्ला कारागार बाँकेका निमित्त प्रमुख जेलर कविराम बुढाथोकीले बन्दीलाई मानसिक तनाब बाट मुक्त हुन स्वअध्ययन प्रभावकारी हुने उल्लेख गर्दै बन्दी जीवन बिताएका बन्दी सामाजिक जीवनमा प्रवेश गर्दा सामाजिकीकरण हुने बताए ।

उनले बन्दीलाई सरकारले उपलब्ध गराएको शिक्षाको हकको सुविधा उपभोग गरेको बताउँदै कारागारमा रहेको पुस्तकालयबाट उनीहरुले लाभ लिएका उल्लेख गरे । कारगारमा अहिले ६ सय ८७ कैदीबन्दी तथा थुनुवा छन् ।