झापा । विपद्मा परेका व्यवसायीलाई सहयोग गर्न विर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘सदस्य राहत कोष’मा सहयोग रकम जुट्न थालेको छ ।
विपत्तिका बेला तत्काल सहयोग गर्ने उद्देश्यले संघले एक करोडको अक्षयकोष बनाउने निर्णय गरेको थियो । संघमा ५ हजार ६ सय ६२ जना सदस्य आबद्ध छन् ।
संघका सदस्य व्यवसायी पर्वत कार्कीले कोषमा एक लाख ११ हजार एक सय ११ दाखिला गरिने भएको संघका अध्यक्ष राजु न्यौपानेले बताए ।
हालसम्म ८ लाखभन्दा बढी रकम संकलन भइसकेको छ । आगलागी, बाढी, चोरी, लुटपाटलगायत घटनामा सदस्यले कोषबाट आर्थिक सहयोग पाउने कार्यविधि बनाइएको जानकारी उनले दिए ।
‘कार्यालयमा आएर कतिपयले सहयोग गरीरहनुभएको छ,’ वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरेले भने, ‘पाँच हजारभन्दा धेरै सदस्य हुनुहुन्छ । उहाँहरु यतिबेला कोष बन्ने कुराले उत्साही हुनुहुन्छ । सबैले अलिअलि सहयोग गर्नुभयोभने कोषमा एक करोड सहजै जुट्नेछ ।’