• Menu

संविधानविपरीत अभिव्यक्ति दिने नेताहरुको भण्डाफोर गर्न प्रचण्डको आह्वान

नेपाल प्रफिट

२०८१ भदौ २०, १०:४२

संविधानविपरीत अभिव्यक्ति दिने नेताहरुको भण्डाफोर गर्न प्रचण्डको आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरुले दिइरहेको संविधानविपरीतका अभिव्यक्तिहरुको भण्डाफोर गर्न आह्वान गरेका छन् ।

सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छुट कसैलाई नभएको बताए ।

जनयुद्धलाई ‘हिंसा’को रुपमा व्याख्या गरिएको तर्फ इंगित गर्दै अध्यक्ष प्रचण्डले भने, ‘जनयुद्धलाई संविधानले सशस्त्र संघर्ष भनेको छ तर संविधानको व्याख्यात्मक टिप्पणीमा स्पष्टसँगै सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउनेछ भनेर लेखिएको छ, त्यसमा सबै दलहरुले हस्ताक्षर गरेका छन् ।’

तर, अहिले कतिपय सत्तारुढ दलका नेताले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्साहस गरेको उनले बताए । ‘संविधानविपरीत बोल्ने नेताहरुको भण्डाफोर गर्नुपर्छ, संविधानमा भएको यथार्थलाई जोडदार रुपमा जनतामा लैजानुपर्छ,’ उनले भने ।

प्रधानमन्त्रीमै बसेका नेताले आफूले गरेको ठगी, बेइमानी र जालजेझलाई ‘प्रचण्डलाई राउन्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको उल्लेख गर्दै उनले भने, ‘ ‘अब जनताको राउन्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन् ।’

जनयुद्धका महान सहिदलाई सम्मान गर्ने सवालमा पार्टीले निरन्तर काम गरिरहेको पनि अध्यक्ष प्रचण्डले स्पष्ट पारे । पटक–पटक सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकेको गुनासो उनले गरे ।

आफू प्रधानमन्त्री भएका बेलामा पुराना निर्णय खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको र अब जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता प्राप्त गरेको उनले बताए । ‘यो हामी सबैका लागि खुसी र गर्वको विषय हो, छुटेकालाई पनि केन्द्रित गर्ने प्रक्रिया त्यसमा बाँकी राखिएको छ,’ उनले भने ।

त्यस्तै जनयुद्ध थालनी भएको दिन फागुन १ को जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने मन्त्रिपरिषद्बाट निर्णय गरिएको भए पनि शान्ति प्रक्रिया अझै नटुंगिएको भनेर अदालतबाट रोकिएको प्रसंग उनले स्मरण गरे ।

अध्यक्ष प्रचण्डले अब टीआरसी विधेयक पारित भएपछि जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गर्न रोक्न नहुने र त्यसका लागि अदालतले पुनर्विचार गर्ने आफूले विश्वास लिएको बताए ।

जनयुद्धका महान सहिदहरुलाई पार्टी र सरकारले गरेको यो सम्मानलाई जनस्तरसम्म बुझाउनुपर्ने प्रचण्डले बताए । ‘हामीले गरेका राम्रा कामको अपनत्व र स्वामित्व लिनुपर्छ,’ उनले भने, ‘संगठन बनाउने र कमजोरी सच्याउने अवसर प्राप्त भएको छ, परिवर्तनका विरुद्ध गर्न खोजिएको ज्यादति र अपमानविरुद्ध संघर्ष गर्नु तयार हुनुहोला ।’

पार्टीले सबै सहिदको एकैसाथ सम्झना गर्न जनयुद्धकालदेखि नै हरेक वर्ष फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउने गरेको भए पनि शान्ति प्रक्रियापछि सहिदका फरक–फरक स्मृति दिवस र प्रतिष्ठान बनाउने क्रम चलेकाले यसमा सच्याएर जाने उनले बताए ।

अध्यक्ष प्रचण्डले अहिले आफूहरु पार्टी पुनर्निर्माणको प्रक्रियामा भएकाले आगामी केन्द्रीय समिति बैठबाट सहिदको स्मृति दिवसबारे एकरुपता कायम गर्ने गरी नीतिगत व्यवस्था गरिने जानकारी दिए ।