काठमाडौं । नेपालको रोजगारदाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् । महासंघ र ट्रेड युनियनबीच २०८० मंसिर २४ मा भएको समझदारीअनुसार भदौ १३ मा फोरम गठन भएको हो ।
बैठकमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा रोजगारदाता र श्रमिकबीच सम्बन्ध सुधार हुँदै गएको बताए । ढकालले भविष्यमा आउन सक्ने कुनै पनि चुनौती समाधान गर्न रोजगारदाता र श्रमिकबीच सहकार्य र समन्वयको आवश्यकता औंल्याए ।
त्यस्तै जेटीयूसीसीका अध्यक्ष योगेन्द्र कुँवरले मंसिरमा भएको समझदारी पत्र समीक्षा गर्नुका साथै आगामी दिनमा आउनसक्ने चुनौतीको न्यूनीकरणका उपाय पहिचान गर्दै जाने, सामाजिक सुरक्षा कोषलाई अझ सक्रिय पर्दै जानुपर्ने र यसका लागि श्रमिक र रोजगारदाता दुवै पक्षको भूमिकालाई बढाउँदै जान जरुरी रहेको धारणा राखे ।
यस्तै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले उद्योग पनि बचाउने र श्रम बजारलाई पनि व्यवस्थित बनाउँदै अगाडि बढ्ने दृष्टिकोण स्थापित गर्न जरुरी रहेको बताए । द्विपक्षीय समझदारी गरिएको विषयलाई सम्झना गर्दै उनले त्यस समझदारीमा उल्लेख गरिएका कार्यक्रमलाई कार्यसमिति निर्माण गरी अगाडि बढ्न जरुरी रहेको विचार राखे ।
महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति ज्योत्सना श्रेष्ठले गत मंसिरमा भएको समझदारीलाई छिट्टै कार्यान्वयन गर्नुपर्ने र दुवै पक्षको सहमतिमा क्षेत्रगत, उत्पादकत्वलगायतका आधारमा न्यूनतम पारिश्रमिक निर्क्यौल गरिनुपर्ने बताइन् ।
उनले दुईपक्षीय रूपमा समाधान हुनसक्ने कुनै पनि समस्या सरकारमा जानुभन्दा अगाडि छलफल हुनुपर्ने र अन्तर्राष्ट्रिय अभिसन्धीहरु पास गर्ने सम्बन्धमा द्विपक्षीय छलफल जरुरी रहेको विषय स्मरण गराइन् ।
फोरममा महासंघ र ट्रेड युनियनतर्फका गरी तीन-तीन जना सदस्य रहने टुंगो लागे पनि नेतृत्व कुन पक्षले लिने र समितिमा को को रहने भन्ने टुंगो लागेको छैन ।