• Menu

बिरामीको चाप बढेपछि अस्पताल व्यवस्थापनमा समस्या

नेपाल प्रफिट

२०८१ भदौ १८, १६:२१


उदयपुर । जिल्ला सदरमुकाम गाईघाट बोक्सेस्थित ५० शय्याको जिल्ला अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप बढेपछि व्यवस्थापनमा समस्या हुन थालेको छ ।

अस्पताल प्रशासनका अनुसार २०६७ सालदेखि २५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सञ्चालन गर्दै आएको भए पनि यस पटकदेखि बिरामीको चाप बढेसँगै व्यवस्थापनमा समस्या हुन थालेको हो ।

जिल्ला अस्पताल उदयपुरका प्रमुख डा. ज्ञानेन्द्र झाका अनुसार हाल दैनिक ५ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । भाइरल ज्वरो, रुघाखोकी, डेंगु र अन्य रोगका बिरामी दैनिक ५ सय भन्दाबढी आउन थालेपछि अस्पतालको शय्याले धान्न छाडेको उनले बताए । शय्या अभाव भएपछि भूइँमासमेत राखेर बिरामीको उपचार गर्नु परेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गौरबहादुर विश्वकर्माका अनुसार अस्पतालको क्षमता बढाइदिन सम्बन्धित निकायमा पटक–पटक माग गरेपनि सुनुवाइ भएको छैन ।

त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले भने, ‘अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप बढ्दै गएको कारण क्षमता वृद्धि गरिदिनेबारे पटक–पटक कोशी प्रदेशका मुख्यमन्त्री र संघीय सरकारका स्वास्थ्यमन्त्रीसँग भेट गरेर अनुरोध गरिसकेका छौँ, तर सुनुवाइ भइरहेको छैन ।’

स्वास्थ्य मन्त्रालयको नियमावली अनुसार २ सय शय्यासम्मको अस्पताल वृद्धिको अनुमति प्रदेश सरकारले दिनसक्ने व्यवस्था छ । सो भन्दा बढीको क्षमता वृद्धि गर्न परे संघीय सरकार स्वास्थ्य मन्त्रालयको अनुमति आवश्यक पर्छ ।

अस्पताल व्यवस्थापन समितिका सदस्य महेश रोकाका अनुसार उदयपुरको जनसंख्या हाल ३ लाख ७८ हजारभन्दा बढी पुगिसकेको छ । यस अस्पतालमा उदयपुर बाहेक खोटाङ, भोजपुरका बिरामीसमेत उपचारका लागि आउने गर्छन् ।