• Menu

नारायणगढ-मुग्लिन सडकका दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याइने

नेपाल प्रफिट

२०८१ भदौ १८, १३:२८

नारायणगढ-मुग्लिन सडकका दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याइने
फाइल तस्बिर

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । सो सडकमा रहेका थप बाँकी दुई पुल कात्तिकसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

निर्माण भइरहेका काली र नाम्सी खोलाको पुल दशैंअघि सञ्चालनमा ल्याउने तयारी गरिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड नारायणगढ–मुग्लिन का इन्जिनियर कृष्ण आचार्यका अनुसार ती दुई पुलको कालोपत्रको काम मात्र बाँकी रहेको छ ।

उनले भने, ‘दशैंसम्ममा यी दुई पुल सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ ।’ सो सडक खण्डमा रहेका १९ पुलमध्ये ४ निर्माणाधिन रहेका छन् । बाँकी २ तुइन र खहरे खोलाको पुलको पहुँच सडक तथा कालोपत्रको काम बाँकी रहेको छ । आचार्यका अनुसार यी दुई पुल कात्तिक मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

यस सडक खण्डमा रहेका १९ पुलमध्ये २०७६ साल चैत १० मा १५ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । यसअघि ४ नयाँ पुल निर्माण गरिएको थियो । ४ पुल सन् २०२० मा निर्माण गरिएको थियो । १५ वटा पुलको लागत १ अर्ब २८ करोड रुपैयाँ रहेको छ । अनक कन्सट्रक्सनले पुलको ठेक्का पाएको थियो ।

विश्व बैंकको सहयोगमा ती पुल निर्माण गरिएका हुन् । सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक ९ देखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । पुलको बीचमा ७.५ मिटर गाडी गुड्ने भाग रहेको छ भने दुवै पट्टी ठाउँ अनुसार १.५ मिटरसम्म फराकिलो पैदल मार्ग बनाइएको छ ।

तुइन खोलामा भित्तो काट्नुपर्ने भएकाले र खहरेमा मुआब्जाका कारण काम ढिलो भएको हो । यो सडक राजधानी छिर्ने र बाहिरिने मुख्य सडक हो । विगतका वर्षमा पहिरोका कारण वर्षायाममा धेरै सास्ती व्यहोर्नुपर्ने भए पनि पछिल्लो समय सडक र पुल फराकिलो भएसँगै केही सहज हुँदै आएको छ ।