• Menu

पूर्वीनाकाबाट १५ करोडको खुदो बंगलादेश निर्यात

नेपाल प्रफिट

२०८१ भदौ १६, १६:२०

पूर्वीनाकाबाट १५ करोडको खुदो बंगलादेश निर्यात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा १४ करोड ९३ लाख ६९ हजार रुपैयाँ बराबरको मोलास्सेस खुदो बंगलादेश निर्यात भएको छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार गत आवमा ९ हजार ७ सय ४१.६५ मेट्रिक टन खुदो बंगलादेश निर्यात भएको हो ।

‘चालु आव २०८१/८२ को भदौ दोस्रो सातासम्म ३ हजार ५ सय ५५.६ मेट्रिक टन अर्थात् ५ करोड ३१ लाख ९७ हजार रुपैयाँ बराबरको खुदो बंगलादेश निर्यात भएको थियो ।

भारतले बंगलादेशमा खुदो निर्यात गर्दा ५० प्रतिशत कर लगाएसँगै नेपालबाट यसको माग बढेको व्यवसायी एवं क्लियरिङ एजेन्ट नवीन दाहाल बताए ।

उनका अनुसार भारतबाट मात्रै निर्यात भइरहेको खुदोमा भारी मात्रामा कर लगाउँदा आगामी दिनमा नेपालबाट खुदो बंगलादेश निर्यात हुने क्रम बढ्ने उनी बताउँछन् । आगामी कात्तिक र मंसिरदेखि उखु पेल्न सुरु भएसँगै ठूलो मात्रामा खुदो बङ्गलादेश निर्यात हुने व्यावसायी दाहालको भनाइ छ ।

प्रमुख पाण्डेका अनुसार नेपालको पूर्वीनाका काँकडभिट्टाबाट भारतको पश्चिम बंगालको फूलबारी, बंगलाबन्ध हुँदै बंगलादेशसँग व्यापार हुँदै आएको छ ।