• Menu

झापाका स्थानीय तहले बैंक खाता सञ्चालन गर्न सकेनन्, आर्थिक गतिविधि प्रभावित

नेपाल प्रफिट

२०८१ भदौ १६, ०७:०१

झापाका स्थानीय तहले बैंक खाता सञ्चालन गर्न सकेनन्, आर्थिक गतिविधि प्रभावित

झापा । नयाँ आर्थिक वर्ष सुरु भएको डेढ महिना बितिसक्दा पनि झापाका स्थानीय तहले आर्थिक कारोबार गर्न सकेका छैनन् । स्थानीय तहले बैंक खाता सञ्चालन गर्न नसक्दा विकास निर्माणलगायतका काम ठप्प भएका छन् ।

गाउँसभा तथा नगरसभाबाट पारित भएको नीति कार्यक्रम तथा बजेट कोष तथा लेखा नियन्त्रक कार्यालयमा नबुझाउँदा आर्थिक गतिविधि प्रभावित भएका हुन् ।

‘नीति कार्यक्रम र बजेट गाउँ/नगरसभाबाट पारित भएको विवरण नआएकाले स्थानीय तहमा जाने रकम फुकुवा नभएको हो,’ कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीले भने ।

गाउँसभा तथा नगरसभाबाट पारित भएको नीति कार्यक्रम तथा बजेट र गत आवको हिसाब मिलान भएको विवरण आउनेबित्तिक्कै स्थानीय तहमा जाने रकम फुकुवा हुने उनले बताए । उनका अनुसार १५ वटै स्थानीय तहले नीति कार्यक्रम तथा बजेट र गत आवको हिसाब मिलान भएको विवरण बुझाएका छैनन् ।

झापा गाउँपालिका-२ का अध्यक्ष हिमाला चम्लागाईंले पालिकाको खाता समयमै सञ्चालन नहुँदा दैनिक कार्यालय सञ्चालनमा समेत समस्या भइरहेको बताइन् ।

‘विभिन्न योजनाका गत वर्षका भुक्तानी रोकिएका छन्, मृत्यु संस्कारमा दिने रकम दिन सकिएको छैन, शिक्षक कर्मचारीको तलब तथा यो वर्ष कार्यान्वयन गर्नुपर्ने योजनासमेत ढिला गरी सञ्चालन हुने निश्चित भइसकेको छ,’ उनले भनिन् ।

यसैगरी विभिन्न स्थानीय तहका कर्मचारीले बर्खाको बेला सञ्चालन हुने बोटबिरुवा वितरण, वृक्षारोपणलगायत कार्यक्रम बैंक खाता सञ्चालन नहुँदा बजेट अभावले गर्न नसकिएको गुनासो गर्ने गरेका छन् ।