सुर्खेत । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले सरकारले भ्रष्टाचारीको संरक्षण गर्ने काम जारी राखे सदन र सडकबाट प्रतिवाद गरिने बताएका छत् । पार्टीको कर्णाली प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्न सुर्खेत आएका प्रचण्डले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भ्रष्टाचारीलाई संरक्षण नगर्न सरकारलाई चेतावनी दिएका हुन् ।
कसको चाहनामा र कसरी सरकार निर्माण भयो भन्ने हरेक घटनाक्रममा जनता प्रस्ट रहेको उनले उल्लेख गरे । आफ्नो नेतृत्वको सरकारले अघि बढाएको भ्रष्टाचारमाथिको छानबिनलाई सामसुस पार्ने खेल भइरहेकाले यसविरुद्ध सदन र सडकबाट आवाज घनिभूत बनाइने उनले बताए ।
‘अहिले सदनबाट सरकारलाई सचेत रहन आग्रहमात्र गरिरहेका छौं,’ उनले भने, ‘नसच्चिए सदन र सडक दुबै ठाउँबाट आन्दोलन अघि बढाउँछौं ।’
सरकारका लागि पहिलो र दोस्रो दल मिलेको संसारको संसदीय इतिहास नभएको उनले उल्लेख गरे । ‘त्यसकारण गलत कुरालाई चोखाउनका लागि गरिएका सबै खालका क्रियाकलापको साक्षी भएर माओवादी बस्दैन,’ प्रचण्डले भने ।
भदौ ११ मा आफूले संसदमा गरेको सम्बोधन उत्तेजना र आवेग नभई सरकारका गलत कामको भण्डाफोर भएको उनले बताए । पूर्वप्रधानमन्त्री प्रचण्डले गलत कामको विरोध गर्न सय दिन नै पर्खनुपर्छ भन्ने कतै नभएको पनि स्पष्ट पारे ।
अहिले सदनमा चलिरहेको ‘हिंसा’ सम्बन्धी विवादका सम्बन्धमा पत्रकारले सोधेको प्रश्नमा अध्यक्ष प्रचण्डले भने, ‘एमालेका साथीहरुले त्यसरी नबोलेको भए हुन्थ्यो, कुनै समयमा जनयुद्ध र यसका उपलब्धिलाई उहाँहरुले राम्रोसँग व्याख्या गर्नुभएकै हो । अझ जसले हिंसा भन्ने शब्द प्रयोग गर्नुभयो, उहाँले जनयुद्धको प्रशंसा नै गर्नुहुन्थ्यो । विस्तृत शान्ति सम्झौतादेखि संविधानमा उल्लेख गरिएका शब्दको मर्मभन्दा बाहिर जाने गरी त्यस्ता अभिव्यक्ति नदिन सम्बन्धित साथीहरुलाई म सचेत गराउन चाहन्छु ।’
सबै खालका परिवर्तन माओवादीकै एजेन्डा भएकाले यसलाई जोगाउने कुरा पनि माओवादीकै भूमिका बढी भएको उनले औँल्याए । माओवादीको महत्व र भूमिकालाई मिनिमाइज गर्ने गरी अभिव्यक्ति नदिन प्रचण्डले आग्रह गरे ।
माओवादी फुट्छ भन्ने हल्ला निराधार भएको र पछिल्ला बैठकमा भइरहेका खुला र स्पष्ट बहसले सबै आशंका अन्त्य गरेको उनले दाबी गरे । अध्यक्ष प्रचण्डले पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउँदै विगतमा विभाजन भएका दललाई समेत एकताबद्ध गर्ने काममा पार्टी अघि बढेको जानकारी दिए ।
‘पार्टी फुट्छ कि भनेर जो हल्ला फैलाइएको थियो, हाम्रो पार्टीले त्यसलाई सर्वसम्मत रुपमा खारेज गरेको छ,’ उनले भने, ‘केही मानिसले डिजाइनअनुसार यस्तो हल्ला फैलाएका हुन् । सबै प्रदेशमा पुग्दा यो भ्रम पूर्णरुपमा अन्त्य भइसक्नेछ ।’