• Menu

जनप्रतिनिधि र कर्मचारी नै नबस्ने आवास गृहका लागि वार्षिक ४ लाखभन्दा बढी भुक्तानी

नेपाल प्रफिट

२०८१ भदौ १४, शुक्रबार १४:०३

जनप्रतिनिधि र कर्मचारी नै नबस्ने आवास गृहका लागि वार्षिक ४ लाखभन्दा बढी भुक्तानी

पर्वत । फलेवास नगरपालिकाले कर्मचारी र नगर प्रमुखको आवासका लागि भाडामा लिएका आवासगृह प्रयोगविहीन बनेका छन् । नगरपालिकाले ती घरका भाडावापत वार्षिक लाखौँ रुपैयाँ भुक्तानी गर्दै आएको छ ।

नगरप्रमुखको आवासका लागि फलेवास नगरपालिका-६ देवीस्थानमा र कर्मचारीका लागि फलेवास-५ खानीगाउँमा घर भाडामा लिइएको नगरपालिकाले जनाएको छ ।

आवास गृहमा न कर्मचारी बस्छन् न त नगरप्रमुख नै । नगरप्रमुख गंगाधर तिवारी आफ्नै वडा नं ३ शंकरपोखरी कुश्माबजारमा रहेको घरमा बस्छन् भने केही कर्मचारी नगरले सम्झौता गरेको घरमा नबसी छुट्टै बस्दै आएका छन् ।

नगर प्रमुखका लागि मासिक १५ हजारमा घरबहालमा लिएको छ भने कर्मचारीका लागि मासिक १९ हजार ५ सय भुक्तानी गर्दै आएको छ । पूर्व नगरप्रमुख पदमपाणि शर्माले आवासीय सुविधा लिएको भए पनि तिवारीले भने आवासीय सुविधा नलिनुको प्रमुख प्रशासकीय अधिृकत नारायणप्रसाद आचार्यले जानकारी दिए ।

जनप्रतिनिधि र कर्मचारी नै नबस्ने आवासका लागि वार्षिक ४ लाखभन्दा बढी भुक्तानी हुँदै आएको जनाउँदै सरोकारवालाले विरोध जनाएका छन् ।

नगरभित्रै खाली रहेका वडा नं ५ का पुरानो वडा कार्यालय, पुरानो पशु सेवा शाखा, फलेवास सिँचाइ आयोजना, तत्कालीन कृषि विकासको शाखा कार्यालयलाई प्रयोगमा ल्याउन समेत माग गरिएको छ ।

आचार्यले आफू सरुवा भएर आउनुभन्दा पहिल्यैदेखि कर्मचारी र नगर प्रमुखको आवासका लागि भाडा भुक्तानी हुँदै आएको जानकारी दिए ।

पुरानै सम्झौताका आधारमा दुवै ठाउँमा भाडा तिर्ने गरिएको जनाउँदै यसलाई दुरुपयोग भएकै भनेर नबुझ्न आग्रह गरेका छन् । उनले ती भवनमा नगरपालिकामा आउने अतिथि पाहुना राख्ने गरिएको दाबी गरे ।

‘भाडामा लिएको आवास नभएको भए होटल खोजेर वा कुश्माबजारमा पठाउनुपर्ने थियो, तर हामीले तीनै आवासमा अतिथिलाई व्यवस्थापन गर्ने गरेका छौँ,’ आचार्यले भने, ‘नगर प्रमुखको आवासमा आफूलाई बस्न नगरप्रमुखले आग्रह गरेको भए पनि आफू अन्यत्रै बस्ने गरेको छु ।’

प्रयोगविहीन आवासको सम्झौता रकम भुक्तानी रोक्ने प्रक्रियामा आफूले छलफल थाल्ने उनले बताए । यसैबीच नगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माण पनि तीव्रगतिमा भइरहेको छ ।

चालु आर्थिक वर्षमा सम्पन्न हुनेगरी भवन निर्माण भइरहेको तिवारीले बताए । खानीगाउँको झकलक चौरमा निर्माण सुरु भएको भवन ४२ कोठे हुनेछ । निर्माण कम्पनीले २०७८ साल भदौमा निर्माणको सम्झौता गरेको भवन ९ करोड २ रुपैयाँ लागतमा बन्ने छ ।

डेढ वर्षमा भवन सम्पन्न गर्ने सम्झौता भए पनि केही ढिलाइ भएको तिवारीले बताए । नयाँ भवन सम्पन्नपछि अहिले चलिरहेको अस्थायी भवनमा कर्मचारीको आवास सर्ने भएकाले घरभाडा तिर्नुपर्ने समस्या नुहुने बताए ।