• Menu

अरू देशको तुलनामा नेपालको प्रेस स्वतन्त्रता बलियो छ : मन्त्री गुरुङ

नेपाल प्रफिट

२०८१ भदौ १३, १६:४९

अरू देशको तुलनामा नेपालको प्रेस स्वतन्त्रता बलियो छ : मन्त्री गुरुङ

काठमाडौँ । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अरू मुलुकको तुलनामा नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खुला र उदारवादी रहेको बताएका छन् । बिहीबार गरिएको कुराकानीमा मन्त्री गुरुङले अन्तर्राष्ट्रिय समाचार माध्यमको अवस्था दर्शाउँदै बहुलवादी खुला समाज अंगीकार गरेको नेपालमा प्रेस स्वतन्त्रता बलियो रहेको धारणा राखे ।

‘सार्क क्षेत्रमै हेर्ने हो भने हाम्रो देशको प्रेस निकै लोकतान्त्रिक र खुला छ,’ उनले भने, ‘प्रेसको यो गरिमा जोगाई राख्न मर्यादित र व्यवस्थित नीति ल्याउन आवश्यक छ ।’ सिङ्गारपुर र मलेसिया जस्ता विकसित मुलुकमा समेत सीमित संचारमाध्यम सञ्चालित रहेको उल्लेख गर्दै  गुरुङले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मर्यादित र व्यवस्थित बनाउन सरकारले गृहकार्य सुरु गरेको जानकारी दिए ।

यसै अनुरुप भदौ ९ मा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिबन्धित ‘टिकटक प्लेटफर्म’ सञ्चालन गर्ने निर्णय गरेको उनको भनाइ थियो । सामाजिक संजाल पछिल्लो समय युवाको रोजगारको केन्द्र बनेकाले प्रतिबन्ध लगाउनु उचित नरहेको गुरुङले बताए ।

यद्यपि आवश्यक नियमन भने जरुरी रहेकाले निश्चित सर्त पूरा गरेर मात्रै ‘टिकटक’ सञ्चालन गर्न पाउने निर्णय गरिएको उनको भनाइ थियो । सामाजिक संजाल सञ्चालन निर्देशिका, २०८० को दफा ३ मा उल्लेख गरिएको टिकटक प्रयोगकर्ता वा कम्पनीले दर्ता गर्नुपर्ने, दफा ६ अनुसार प्रयोगकर्ताको प्वाइन्ट अफ कन्ट्याक सम्पर्क केन्द्र तोक्नुपर्नेलगायत सर्त पालना गर्नुपर्छ ।

गुरुङले टिकटक प्रतिनिधिलाई ‘पर्यटन प्रवर्धन’, ‘डिजिटल सेक्युरिट’, ‘डिजिटल लिट्रेसी’, ‘पब्लिक एजुकेसन’का लागि सहयोग गर्नुपर्ने प्रस्तावमा सहमति भएको बताए ।

‘सामाजिक दूरभावना फैल्याउने अश्लील, अमर्यादित खालका विषयभित्र रहेका शब्द, वाक्यको अंग्रेजी, नेपाली, नेपाल राष्ट्र भाषाहरुमा समेत ‘फिल्टरेसन’ र ‘मोडरेसन’ गर्नुपर्छ भनेका छौँ,’ उनले भने, ‘यसले झन्डै २-३ सय युवाले रोजगार पाउँछन् भने व्यवस्थित समाजिक संजाल बन्न सघाउँछ ।’