• Menu

थारु महिलाका लागि स्नान गर्न चार ठाउँमा घाट निर्माण गरिँदै

नेपाल प्रफिट

२०८१ भदौ १३, १४:३५

थारु महिलाका लागि स्नान गर्न चार ठाउँमा घाट निर्माण गरिँदै

कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ मा थारु समुदायका महिलाहरुलाई स्नान गर्नका लागि चार ठाउँमा घटुवा घाट निर्माण गरिने भएको छ । बलुवा नदीका चार ठाउँमा व्यवस्थित तरिकाले घाट निर्माण गर्नका लागि नगरपालिकाले बजेट विनियोजन गरेको छ । थारु समुदायमा अन्तिम संस्कार दाहसंस्कार का लागि मलामी गइसकेपछि नदीमा महिलाले सामूहिक रुपमा स्नान गर्ने चलन रहेको छ ।

नदीको खुला ठाउँमा महिलाले स्नान गर्नुपर्ने र लुगा फेर्नुपर्ने अवस्था रहेकाले त्यसलाई व्यवस्थित गर्नका लागि घाट निर्माण गर्न लागिएको वडाध्यक्ष बाबुराम चौधरीले बताए ।

‘बन्जरीया, सिंहपुर, बालुवाफाँटा, सिंहपुर राना टोलमा घाट निर्माण गर्नका लागि योजना अघि सारेका छौं,’ उनले भने, ‘नगरपालिकाले प्रत्येक घाट निर्माणका लागि २ लाखका दरले बजेट विनियोजन गरेको छ, घाट निर्माण गर्न त्यस बजेटले नपुग्ने भएकाले थप बजेटका लागि नगरपालिकामा छलफल चलाएका छौं ।’

सामुदायिक वनहरुसँगको लागत साझेदारीमा घाट निर्माणका लागि सहकार्य र छफल पनि भइरहेको उनले उल्लेख गरे । एक घाट निर्माणका लागि कम्तीमा ५ लाख जतिको खर्च लाग्ने उनको भनाइ छ ।

उनका अनुसार घाटमा खुटकिलासँगै महिलालाई लुगा फेर्ने व्यवथित कोठा निर्माण लगायतको कार्य हुनेछ । वर्षातको समय सकिएपछि घाट निर्माणको कार्य प्रारम्भ हुने बताइएको छ । महाकाली सामुदायिक वनका अध्यक्ष विरबहादुर राजवंशीले वनको आयले भ्याउनेसम्मको लागत साझेदारीमा सहकार्य गर्न इच्छुक रहेको बताए ।

घाट निर्माणले महिलालाई खुला ठाउँमा लुगा फेर्नुपर्ने बाध्यताबाट छुटकारा मिल्ने उनले उल्लेख गरे । यसैगरी वडा कार्यालयले वडाका ८ ठाउँमा थारु समुदायको भुइयाँरी देउथान निर्माणको कार्य अगाडि बढाएको छ । ८ वटै देउथानका लागि ३५ लाख बढी रकम खर्च गरिएको वडाध्यक्ष चौधरीले बताए । ‘केहीको निर्माण कार्य पुरा भएको छ,’ उनले भने, ‘केही निर्माण पुरा हुने चरणमा रहेका छन् ।’