• Menu

उचित मूल्य नपाउँदा जुटखेतीको आकर्षण घट्यो

नेपाल प्रफिट

२०८१ भदौ १३, ११:४८

उचित मूल्य नपाउँदा जुटखेतीको आकर्षण घट्यो

मोरङ । जुटले उचित मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । पूर्वी तराई क्षेत्रमा वर्षौदेखि नगदे बालीका रूपमा लगाउने गरिएको जुटखेतीले पछिल्लो समय किसानको लागत खर्च पनि उठ्न छाडेको छ । धनपालथान गाउँपालिका–१ नोचाका किसान काशीनाथ चौधरीले भने, ‘जुटखेतीतर्फ आकर्षण घटेको छ । जुट उत्पादनमा लगानी धेरै लाग्छ । लगानीअनुसारको बजार मूल्य नपाउँदा पुस्तौदेखि गर्दै आएको जुटखेती छाड्दै गएका हौ ।’

विगत वर्षहरूमा ३ देखि ५ बिघासम्ममा जुटखेती गर्दै आएकामा यस वर्ष १ बिघा १० कठ्ठामा मात्र खेती गरिएको चौधरीले बताए । तराईका अन्य खेतीभन्दा धेरै जुटखेती झन्झटिलो भएका कारण पनि आकर्षण घट्दै गएको जनाइएको छ ।

विगत वर्षहरूमा जुट सफा गर्ने मजदुरलाई ४० मुठा धोएबापत ६ मुठा दिने चलन थियो, अहिले ४० मुठा धोएबापत १० मुठासम्म दिँदा पनि धुने मानिस भेट्न छाडिएको किसान काशीनाथ चौधरी बताए ।

धनपालथानका किसान चौधरीजस्तै जहदा–७ का किसान राजनिश सिंहले जुटखेतीलाई आधुनिकीकरणतर्फ जोड्न नसक्दा र उचित मूल्य नपाउँदा जुटखेतीको आकर्षण घट्दो रहेको बताए ।

किसानले जुटखेतीतर्फको आकर्षण घट्दो बताए तापनि तथ्यांकमा भने वार्षिक रूपमा उत्पादन बढेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा मोरङमा ७ हजार ३ सय ५१.५० मेट्रिक टन, आव २०७९/८० मा ७ हजार ४ सय ९.५० मेट्रिक टन र आव २०८०/८१ मा ७ हजार ७ सय ३१ मेट्रिक टन जुट उत्पादन भएको हुँदा  यस वर्ष उत्पादन बढेको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेव सिंहले बताए ।

उनले मोरङमा गत वर्ष ५ हजार १ सय १० हेक्टर जमिनमा जुटखेती गरिएकामा यस वर्ष वृद्घि भई ५ हजार १ सय २५ हेक्टर जमिनमा जुटखेती गरिएको बताए । उनका अनुसार यस वर्ष प्रतिहेक्टर १.४५ मेट्रिक टन उत्पादन भएको छ । आव २०७८/७९ मा प्रतिक्विन्टल ११ हजारमा कारोबार भएको जुटको मूल्य घटेर आव २०७९/८० मा प्रतिक्विन्टल ९ हजार ५ सय सम्ममा र हाल प्रतिक्विन्टल ८ हजार १ सय ५० मा कारोबार भइरहेको सिंहले बताए ।

कोशी प्रदेशमा ६ हजार ९ सय ६२ हेक्टर जमिनमा जुटखेती गरिन्छ । प्रदेशभित्र अन्य जिल्लाको तुलनामा झापा, मोरङ र सुनसरीमा जुटखेती बढी गर्ने गरिएको छ । ज्ञान केन्द्रका अनुसार मोरङका १७ पालिकामध्ये धनपाल, जहदा, ग्रामथान, कानेपोखरी गाउँपालिका र सुनवर्षी, रतुवामाई र रंगेली नगरपालिकामा जुटखेती गर्ने गरिएको छ ।

नेपालमा उत्पादित जुट सबै स्वदेशमै खपत हुन्छ । नेपालमा भारत र बंगलादेशबाट जुट आयात हुने गरेको छ । नेपालमा उत्पादन हुने जुटलाई तीन वर्गमा विभाजन गरिएको छ । रातो खैरो रंगको जुटलाई एक नम्बर, सेतो रंगको जुटलाई दुई नम्बर र कालो रंग जुटलाई तीन नम्बरमा विभाजन गरिएको छ ।