• Menu

ताप्लेजुङमा रेडपाण्डा संरक्षणका लागि अन्तर्राष्ट्रिय म्याराथन हुँदै

नेपाल प्रफिट

२०८१ भदौ १२, बुधबार १५:३६

ताप्लेजुङमा रेडपाण्डा संरक्षणका लागि अन्तर्राष्ट्रिय म्याराथन हुँदै

ताप्लेजुङ । रेडपाण्डा संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । हिमाली संरक्षण मञ्चको संयोजनमा आगामी असोज ५ मा रेडपाण्डा दिवसका अवसरमा आयोजना हुने सो प्रतियोगिताका सहभागीले ४८ किलोमिटर दूरी पूरा गर्नुपर्नेछ ।

म्याराथनले रेडपाण्डा संरक्षणमा विशेष योगदान पुर्‍याउने अपेक्षा गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए ।

म्याराथनको मार्ग पाथीभरा क्षेत्रमा तय गरिएको छ । यो रेडपाण्डाको मुख्य बासस्थान हो । फुङ्लिङ बजारबाट ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित पाथीभरा पूजाधाम सम्मको २४ किलोमिटर उकालो र त्यहाँबाट पुनः फुङ्लिङ बजारसम्म २४ किलोमिटर ओर्लेर ४८ किमीको दूरी पूरा हुनेछ ।

म्याराथनको तयारी सुरु भइसकेको जानकारी दिँदै संयोजक राईले यस कार्यक्रमले ताप्लेजुङलाई पर्यटकीय र जैविक विविधतामा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

उक्त प्रतियोगिता रेडपाण्डा नेटवर्क र फुङ्लिङ नगरपालिकाको सहयोग रहने जनाइएको छ । हरेक वर्ष सेप्टेम्बर २१ मा रेडपाण्डा संरक्षण दिवस मनाइन्छ र यस वर्षको विशेष कार्यक्रमका रूपमा म्याराथनलाई समावेश गरिएको छ ।

म्याराथनले रेडपाण्डा संरक्षणको महत्त्वबारे स्थानीय समुदायलाई थप जनचेतना गर्ने लक्ष्य राखेको छ । मञ्चका फिल्ड संयोजक सुष्मा डाँगीका अनुसार म्याराथनको उत्कृष्ट एकजना विजेताले १ लाख प्राप्त गर्नेछन् भने पुरुषतर्फका प्रथम, दोस्रो र तेस्रो विजेताले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

महिलातर्फका विजेतालाई पनि त्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

साथै, विशेष रेडपाण्डा पाइने ताप्लेजुङ, पाँथर र इलामबाट सहभागी हुने धावकका लागि अतिरिक्त पुरस्कारको व्यवस्था गरिएको छ ।

पहिलो, दोस्रो र तेस्रो स्थानमा आउने धावकले क्रमशः रु १५, १० र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । विदेशी धावकका लागि १ सय डलर दर्ता शुल्क राखिएको छ भने नेपाली धावकका लागि ३ हजार शुल्क निर्धारण गरिएको छ ।

ताप्लेजुङ, पाँथर र इलामबाट सहभागी हुने धावकका लागि दर्ता शुल्क १ हजार राखिएको छ । म्याराथन कार्यक्रमलाई सफल बनाउन रेडपाण्डा नेटवर्कले यस वर्ष १० लाख सहयोग गर्ने छ भने फुङ्लिङ नगरपालिकाले ५ लाख छुट्याएको छ ।

आयोजकका अनुसार यो म्याराथनले ताप्लेजुङलाई विश्वव्यापी संरक्षण र पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुर्‍याउनेमा विश्वास रहेको ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले बताए ।

रेडपाण्डाको प्राकृतिक बासस्थान संरक्षणको महत्त्वबारे स्थानीयलाई शिक्षित गर्न यो अभियानकै रूपमा म्याराथन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।