बाँके । नेपालगन्ज चिसापानीस्थित गाभर उपत्यकामा ९ प्रकारका कोदोको उत्पादन गर्न परीक्षण सुरु गरिएको छ ।
राष्ट्रिय जिन बैंकको सहकार्यमा तराईमा हुने कोदोको परीक्षण सुरु भएको सामुदायिक जिन बैंक कोहलपुरका संयोजक परमुल बस्नेतले जानकारी दिए ।
‘करिब दुई कट्ठा क्षेत्रफलमा अलग–अलग प्लट बनाएर नौ जातका कोदोको परीक्षण गर्न कोदो रोपिएको छ,’ संयोजक बस्नतेले भने ।
साउन १६ मा कोदोको बीउ राखेर केही दिनअघि मात्रै कोदो रोपिएको हो । ९ जातका कोदो रोपिएको र सोमध्ये सबैभन्दा राम्रो कोदो किसानलाई रोप्न प्रेरित गरिने उल्लेख गर्दै उनले पूर्वी तराईका जिल्लामा सफल भएका स्थानीय जातको परीक्षण सुरु भएको बताए ।
राष्ट्रिय जिन बैंकका प्राविधिक अधिकृत प्रदीप थापाले रैथाने बालीको संरक्षणका लागि सुक्खा ठाउँमा समेत कोदो जस्तो रैथाने बाली लगाउन मिल्ने गरी यसको परीक्षण भएको उल्लेख गरे ।
परीक्षण गरिएका ९ मध्ये ५ जिन बैंकले परीक्षणमार्फत उत्कृष्ट देखिएका, २ वटा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले विकास गरेका र अन्य २ किसानका जात रहेका छन् ।
अहिले लगाएको कोदोको प्रतिफल मंसिरसम्म आउने बताइएको छ । २०७८ सालमा चिसापानीको गाभरमा सरकारले पहिलो सामुदायिक जिन बैंक स्थापना गरेको थियो ।
गाभरमा कोदो उत्पादनको प्रशस्त सम्भावना रहेको घरबास संचालक संघका महासचिव कृष्ण चौधरीले बताए । उनले हालसम्म नार्कले तराईमा समेत लगाउन सक्ने कोदोको जातको विकास गरेको बताए ।