• Menu

घोरेपानीमा दुई पर्यटक मृत भेटिए

नेपाल प्रफिट

२०८१ भदौ ११, २२:१३

घोरेपानीमा दुई पर्यटक मृत भेटिए

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार हराएका दुई स्पेनिस नागरिकमध्ये मंगलबार एकजनाको शव फेलापरेको छ । अन्नपूर्णको उल्लेरी हुँदै घोरेपानी जाने क्रममा पर्यटकद्वय ३७ वर्षीय इरिक कासानोभास र ३२ वर्षीया मोलास जुन्का मेसी बेपत्ता भएका थिए ।

खोजीको क्रममा इरिकको शव उनीहरूको झोला भेटिएको स्थान मौजाखोलाभन्दा करीब  एक किमी तल भुरुंदी खोलाको बीचमा ढुंगामा अड्किएको अवस्थामा फेलापरेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए । महिलाको अवस्था भने अझै पत्ता लाग्न नसकेको उनले बताए ।

सशस्त्र प्रहरीको खोताखोरसहितको टोली, नेपाल प्रहरी, जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा स्थानीयवासीले विहानदेखि नै खोजी गरेका थिए । भदौ ९ मा बिहान अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको बिरेठाँटी चेकपोष्टमा घोरेपानी जाने भनेर पर्यटकले विवरण दर्ता गरेका थिए ।

सोही दिन साँझ बाटोमा दुईवटा झोला बेवारिस अवस्थामा भेटिएपछि पर्यटक हराएको आशंकामा खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार फेलापरेका झोला बिरेठाँटी प्रहरी चौकीमा ल्याएर खोलेर हेर्दा पर्यटकको भएको पुष्टि भएको थियो । पदयात्रामार्गमा पर्ने भुरुंदी खोला नजिकको झरनामा तस्बिर लिने क्रममा पर्यटक खोलामा खसेको अनुमानका आधारमा सोमबार झरनाको आसपास र नदी किनारमा खोजी गरे पनि फेला पर्न सकेको थिएन ।

खोजीका क्रममा झरना नजिक आल्मुनियमका दुईवटा स्टिक लौरी भेटिएको थियो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना विरेठाँटी चेकपोष्टका इन्चार्ज यामबहादुर गुरुङले बेपत्ता महिला खोजीलाई बुधबार पनि निरन्तरता दिइने बताए ।

पर्यटकको हराएको सूचना सम्बन्धित देशको राजदूतावासमा जानकारी गराइएको उनले बताए ।