• Menu

सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने खतरनाक खेलमा छ : प्रचण्ड

नेपाल प्रफिट

२०८१ भदौ ११, १४:३७

सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने खतरनाक खेलमा छ : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने र अरु अपराधीलाई पनि बचाउने खतरनाक खेलमा लागेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आज मंगलबारको बैठकमा उनले विभिन्न काण्डमा एक‑अर्कालाई जोगाउन र उन्मुक्ति दिन मिल्ने सामान्य अपराध नभएको बताए ।

‘यो सम्मानित संसदमा मेरो पछिल्लो सम्बोधनमा यही रोस्ट्रममा उभिएर मैले चुनौतीका साथ भनेको थिएँ, सरकारको पछाडि विचौलिया र माफिया छ र त्यही माफियाकै सेवामा यो सरकारको सबै प्रतिष्ठा समाप्त हुनेछ,’ उनले भने, ‘त्यति भन्दाभन्दै पनि मलाई लागेको थियो, सरकारले केही दिन त संकोच मान्नेछ । केही दिन त लाज मान्नेछ,’  प्रचण्डले भने, ‘तर सरकार यति हतारमा देखियो कि बिरालोले म्याउ गर्न एक हप्ता पनि लागेन ।’

लोडसेडिङको बेलाको डेडिकेटेड र ट्रंकलाइनको बिलको विवादमा प्रधानमन्त्री केपी शर्मा ओली रोस्ट्रममा  कडा रुपमा उभिएको उनले बताए । ‘तर जसका पक्षमा जसरी उभिनुभयो, त्यो देखेर सिंगो देश स्तब्ध भयो,’ व्यंग्यात्मक शैलीमा उनले भने ।

यो सरकार सुशासनसँग तर्सिएर, सुशासनको वेगलाई रोक्न, आफूहरु र आफ्नाहरु जोगाउन र जोगिन बनेको उनले उल्लेख गरे ।

उनले भने, ‘तैपनि मलाई लागेको थियो, कम्तीमा भुटानी शरणार्थी प्रकरणमा केही दिन त सरकारले यताउती अल्मल्याउला, अनुसन्धान भइरहेको भान देला, जनतासँग अलिअलि डराउला । तर, यहाँ पनि दुई तिहाइको बलियो सरकारले बल देखाउन सात दिन पनि पर्खेन ।’

भुटानी शरणार्थी काण्डको राजनीतिक कडीमा प्रवेश गरेका प्रहरीका विशेष ब्युरो प्रमुखको सरुवालाई गम्भीर घटनाको रुपमा लिनुपर्ने उनले बताए ।

‘हिजोको सरकारले भुटानी शरणार्थी, बाँसबारी, बालमन्दिर लगायतका थुप्रै काण्डको सफल छानबिन गर्दै थियो, नयाँ सरकार आयो र के गर्‍यो हिजो ती काण्डको छानबिन गरिरहेका प्रहरी अधिकृतमाथि नै छानबिन सुरु गर्‍यो । यसरी हुन्छ दुई तिहाइको सुशासन ?’ उनले प्रश्न गरे ।

विभिन्न काण्डमा परेकालाई उन्मुक्ति दिन मिल्ने सामान्य अपराध नभएको उनले उल्लेख गरे । सरकारले अन्तर्राष्ट्रिय जगतमै नेपालको कानुनी, नैतिक, राजनीतिक र सामाजिक प्रतिष्ठा धुलोपिठो पारेको प्रचण्डले आरोप लगाए ।

‘यस्तो निर्लज्ज र निकृष्ट घटनाको अनुसन्धान गरिरहेका क्षमतावान र साहसी प्रहरी अधिकृतहरुलाई पुरस्कार होइन, उल्टो सरुवा र छानबिन गरेर बाँकी विश्वलाई के सन्देश दिँदै हुनुहुन्छ तपाईँहरु ?’ प्रचण्डले प्रश्न गरे, ‘अन्तर्राष्ट्रिय समुदायको यति प्रत्यक्ष चासो र निगरानी रहेको विषयमा पनि यो तहको निर्लज्जताले कहाँ पुग्छ देशको प्रतिष्ठा ?’