• Menu

इनरुवाका किसानलाई गाई दुहुने मेसिन

नेपाल प्रफिट

२०८१ भदौ ११, १४:१२

इनरुवाका किसानलाई गाई दुहुने मेसिन

सुनसरी । इनरुवाका गाईपालक किसान अनिल यादवको कृषि फर्ममा १० वटाभन्दा बढी गाई छन् । उनलाई ती गाई दुहुन निकै समस्या थियो । ‘एकै गाई दुहुन २० मिनेटभन्दा बढी समय लाग्थ्यो । सरसफाइको विषयमा उपभोक्ताहरूले पनि प्रश्न गर्थे तर अचेल भने केही सहज हुँदैछ,’ उनले भने ।

नगरपालिकाले अन्य २ जनासहित उनलाई पनि गाई दुहुने मेसिन प्रदान गरेपछि सहज भएको हो । नगरपालिकाले नगर क्षेत्रभित्रमा रहेका ३ जना व्यावसायिक पशुपालक किसानलाई केही दिनअघि मेसिन प्रदान गरिएको जनाएको छ ।

नगरपालिका प्रमुख केदार भण्डारीले गाई फार्म व्यवस्थित गर्न र दूध उत्पादन बढाउने उद्देश्य अन्तर्गत ५० प्रतिशत अनुदानमा मेसिन सहयोग गरिएको जानकारी दिए।

‘गोठ तथा फार्ममा १० भन्दा बढी गाईपालन गर्ने किसानलाई छनोट गरिएको थियो । हातले दुहुदा ढिलो हुने र सरसफाइलगायत समस्या हुने गरेको गुनासोपछि पहिलो पटक व्यावसायिक किसानलाई मेसिन दिएका हौँ,’ उनले भने ।

पशु शाखा प्रमुख डा. राजकुमार यादवले समय लागत घटाउने, सजिलै गरी बढी र सफा दूधसमेत दुहुन मेसिनबाट सहयोग पुग्ने बताए ।

मेसिन प्राप्त भएपछि गाई दुहुन सहज भएको स्थानीय किसान राजेश्वर यादवले बताए । मेसिन पाएपछि विगतमा गाई दुहुदा भोगेका समस्या समाधान गर्न सहज भएको उनले बताए ।

‘केही दिनअघि मात्रै मेसिन पाएका छौँ । पहिले एउटा गाई दुहुन कम्तिमा २० मिनेट समय लाग्थ्यो, त्यसमा केही सहज भएको छ । गाई दुहुन लाग्ने समय बचत भएपछि थप अरु काम गर्न सहज हुने अपेक्षा छ,’ यादवले भने ।