पर्वत । फलेवास नगरपालिका–१० मा रहेको शारदा माध्यमिक विद्यालयको भवन पहिरोले भत्किएको छ । निरन्तरको वर्षापछि भवन पछाडिको भिरबाट झरेको पहिरोले चार कोठे भवन भत्किनुका साथै अन्य कोठासमेत पुरिएका छन् । भवन भत्किएपछि दैनिक पठनपाठनमा समस्या भएको विद्यालयले जनाएको छ ।
साउन ३१ मा राति ११ बजे झण्डै २० मिटर लामो पहिरो झरेर भवन भत्किएको हो । चार कोठे भवनमा क्षति पुगेपछि अहिले बाँकी रहेका अन्य कक्षाकोठामा मुस्किलले पठनपाठन सञ्चालन गरिरहेको विद्यालयका प्रधानाध्यापक जीतबहादुर थापाले जानकारी दिए ।
थापाका अनुसार पहिरोले तीन शौचालय प्रयोग नै गर्न नसकिने गरी पूर्ण रूपमा भत्किएका छन् भने चार कोठे भवनको दुई वटा कोठामा पूर्ण रूपमा क्षति भएको छ । ती कोठामा रहेका झन्डै २५ डेस्क र बेन्च पनि भवनसँगै पुरिएका छन् । भूकम्पपछि विद्यालयमा प्राप्त भएको अर्को चार कोठे भवन पनि सोही पहिरोले उच्च जोखिममा रहेको थापाले जानकारी दिए ।
रातिको समयमा पहिरो गएका कारण मानवीय क्षति हुन नपाएको हो । ठूलो भौतिक क्षति भएपछि विद्यालय समस्यामा परेको बताउँदै थापाले दिउँसोको समयमा पहिरो झरेको भएमा ठूलो मानवीय क्षति हुने अवस्था रहेको बताए । ‘रातिको समयमा पहिरो आएकाले भौतिक क्षति भए पनि मानवीय क्षति हुन पाएन,’ थापाले भने, ‘विद्यालय रहेको जमिन पनि कमजोर र भिरालो भएकाले सधैँ जोखिममा रहनुपरेको छ ।’
पहिरोले भत्किएका चार कोठे भवनको दुई कोठामा विद्यार्थी राख्न सकिने अवस्था रहेको भए पनि जोखिमकै कारण त्यसलाई प्रयोगमा ल्याउन मिल्ने अवस्था नरहेको थापाले भने तत्कालका लागि केही कक्षालाई व्यवस्थापन गरेर अध्यापनलाई निरन्तरता दिइएको उनले बताए ।
पहिरो खसेको क्षेत्र ठूलो भएकाले फेरि पनि क्षति पुग्नसक्ने जोखिम रहेको उनले बताए । तत्काल पहिरोको व्यवस्थापन तथा आगामी दिनमा आउन सक्ने जोखिम न्यूनीकरणका लागि धेरै बजेट लाग्ने अनुमान गरिएको छ ।
विद्यालय आर्थिक समस्यामा रहेका कारण विद्यालय आफैले पहिरो पन्छ्याउने र भविष्यका लागि बलियो हुने गरी पर्खाल लगाउने अवस्थामा विद्यालय नरहेको थापाले बताए ।
पहिरोको अनुगमन गर्न पुगेकी फलेवासका उपप्रमुख शोभाकुमारी क्षेत्रीले संघ र प्रदेश सरकारसँग समन्वय गरेर पहिरोको व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गर्ने आश्वासन दिइन् ।
वर्षायामको समय भएकाले आवश्यक सतर्कता अपनाएर पहिरोको जोखिमलाई मध्यनजर गर्दै कक्षा सञ्चालन गर्न उनले आग्रह गरेकी छिन् ।