पाल्पा । हरेक वर्ष निकालिने ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा मंगलबार हुँदैछ । नेपालले अंग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा कृष्ण जन्माष्टमीको भोलीपल्ट उक्त जात्रा निस्कने परम्परा रही आएको छ ।
२०५ औँ विजय महोत्सव एवं भगवती रथजात्रालाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा अवलोकन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए ।
उनका अनुसार मंगलबार अमननारायणको रथ निकालिने भएको छ । यसवर्ष भगवती र अमननारायणको रथ निकाल्न तिथिले एकैदिन परेकाले आजै अमननारायणको रथ निकालिने भएको हो ।
काफ्लेले भगवतीको रथ निकाल्नु अघि तानसेनको नारायणथान मन्दिरबाट अमननारायणको रथ निकालेर उक्त रथले भगवतीको परिक्रममा पछि मात्र भगवतीको रथ निकालिने परम्परा रहेको जनाइएको छ ।
तानसेन स्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा हुने गरेको छ । प्रदेश सरकारले भगवती यात्राको दिन पाल्पा जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
नेपालले अंग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलीपल्ट धुमधामका साथ विजय उत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने चलन छ ।
तत्कालीन ब्रिटिश सेनालाई नेपाली फौजले पराजित गरेको सम्झनामा पाल्पामा विजय उत्सव स्वरुप सो जात्रा निकालिदै आएको छ । तत्कालीन समयमा नेपाली फौजले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठूलो पर्व र जात्राको रुपमा परिचित छ । कर्णेल उजीर सिंह थापाले विसं १८७६ मा निर्माण गरेको रथलाई नै हालसम्म विजय जात्राको रुपमा संचालन गरिँदै आएको छ ।
ऐतिहासिक परम्परालाई समृद्धिसँग जोड्नुपर्छ : मुख्यमन्त्री आचार्य
यसै बिच आचार्यले मंगलबार शुभाकामना सन्देश जारी गर्दै प्रदेशको समग्र विकासका लागि प्रदेशभित्रका सम्पूर्ण जिल्ला जोड्ने गरी पर्यटन सर्किटको विकास गर्ने सरकारले तयारी गरेको जानकारी दिएका छन् ।
उनले प्रदेशका ऐतिहासिक धरोहर तथा परम्परालाई सन्तुलित र समुचित विकासमा जोड्दै सरकारले पर्यटन सर्किटको योजना बनाएको हो भने ।
पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्राको अवसरमा आचार्यले मंगलबार जारी गरेको शुभकामना सन्देशमा सबै समुदाय विशेषले मनाउने चाड, पर्व, रीतिरिवाज , परम्परा, धार्मिक मान्यतालाई बराबर सम्मान गरिने बताएका छन् ।
‘सामाजिक रुपान्तरणका साथै जागरण र चेतना बृद्धिमा मौलिक परम्पराहरुको आआफ्नै भूमिका छन् । समाज विकाससँग यी परम्परा जोडिएका छन्,’ मुख्यमन्त्रीले शुभकामना सन्देशमा भनेका छन्, ‘प्रदेश सरकारले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिकस्थल तथा परम्परालाई समृद्धिसँग जोड्न चाहन्छ ।’
आचार्यले धार्मिक तथा सांस्कृतिक परम्पराले समुदायमा एकताको भावनाको विकास गराउने जनाउँदै विभिन्न जात, धर्म र समुदायका मानिसमा एउटै परम्परामा सहभागी हुन उनहरु बिचको सहकार्य र भाइचाराको सम्बन्ध अझ प्रगाढ हुने बताए ।
सन्देशमा धार्मिक र सांस्कृतिक परम्पराले हाम्रा पुराना रीतिरिवाज, परम्परा, धार्मिक मान्यतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न मद्दत गर्दै आएका उल्लेख छ ।