काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान समयमा देखिएको आर्थिक मन्दी, व्यापार घाटा, उद्योग तथा व्यावसायीक क्षेत्रका समस्या सहजीकरण गरी जनतामा देखिएको निराशा हटाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सुदूरपश्चिम समाजको सोमबार आयोजित १५औँ साधारणसभामा मन्त्री भण्डारीले वर्तमान सरकार जनताको निराशा अन्त्य गरी आशा जगाउने बाटोमा अग्रसर रहेको बताए ।
उनले भने, ‘नेपालको उद्यमसिलता र औधोगिक क्षेत्रको विकास गर्न मैले ध्यान केन्द्रीत गरेको छु ।’ भण्डारीले विशिष्ट परिस्थितिमा बनेको वर्तमान सरकारले राष्ट्रिय चुनौतीलाई अन्त्य गर्ने जिम्मेवारी वहन गरिरहेको बताए । उनले सुदूरपश्चिमेलीको मौलिक पर्व गौरालाई अन्तराष्ट्रियस्तरमा विस्तार गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘विगतमा सुदूरपश्चिममा मात्रै मनाइने गौरा पर्व अहिले देशभर तथा भारत, अमेरिकालगायतका देशमा समेत मनाउन थालिएको छ, यसको मौलिक स्वरुपको विस्तार गर्नुपर्छ ।’
गौरा पर्व विगतमा थौरै व्यक्तिले मनाउँदा साँघुरो बाटोमा सीमित भएको र अहिले राजमार्गका रुपमा परिणत भएको उनको भनाइ छ । उनले गौरा पर्वको विशेषतालाई पाठ्यक्रममा समेत समावेश गर्नु जुरुरी रहेको तथा यस पर्वको महत्व, गरिमा र सान्दर्भिकता देखाउन सके मात्रै राज्यको संरक्षण र सहुलियत प्राप्त गर्न सकिने बताए ।
कार्यक्रममा भण्डारीले ‘सुदूरकी सोराई गैरा विशेष’ पुस्तकसमेत विमोचन गरेका थिए । पुस्तकमा सुदूरपश्चिमका विभिन्न जिल्ला तथा ठाउँ विशेषका गौरा पर्वका विषयमा व्याख्या गरिएको पुस्तकका प्रधान सम्पादक डा. हरिदत्त पाण्डेयले जानकारी दिए ।