• Menu

मकवानपुरमा स्क्रब टाइफस र डेङ्गु बिरामीको संख्या वृद्धि

नेपाल प्रफिट

२०८१ भदौ १०, १२:३९

मकवानपुरमा स्क्रब टाइफस र डेङ्गु बिरामीको संख्या वृद्धि

मकवानपुर । मकवानपुरमा स्क्रब टाइफसका बिरामी बढेका छन् । साउन सुरु भएसँगै मकवानपुरमा फाट्टफुट्ट देखिने स्क्रब टाइफसका बिरामी हिजोआज ठूलो संख्यामा देखा पर्न थालेका हुन् ।

साउनदेखि हालसम्म मकवानपुरमा स्क्रब टाइफसका बिरामीको संख्या ७० पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारले जानकारी दिए ।

डेङ्गु संक्रमणजस्तै स्क्रब टाइफसका बिरामी सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा भेटिएका छन् । हेटौँडा उपमहानगरपालिकामा ३९ जना स्क्रब टाइफसका बिरामी फेलापरेको प्रमुख मिझारले बताए ।

यस्तै मकवानपुरगढीमा ९, मनहरी गाउँपालिकामा ६, बकैया गाउँपालिकामा ७, भीमफेदी गाउँपालिकामा ४, बागमती गाउँपालिका, कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकामा १–१ जना स्क्रब टाइफसका बिरामी फेलापरेको मिझारले जानकारी दिए ।

मुसाको माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सचेतना अपनाउन मिझारले आग्रह गरेका छन् । डेङ्गु सङ्क्रमित बढ्दै पछिल्लो एक महिनामा मकवानपुरमा डेङ्गु सङ्क्रमितको संख्या बढ्दै गएको छ ।

साउन १ गतेदेखि हालसम्म मकवानपुरमा १ सय ४३ डेङ्गु संक्रमित फेला परेका छन् । मिझारका अनुसार ७९ महिला र ६४ पुरुष गरी मकवानपुरमा १ सय ४३ जनामा नयाँ डेङ्गु सङ्क्रमित फेला परेका छन् ।

सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा १ सय ४, मनहरी गाउँपालिकामा १६, मकवानपुरगढी गाउँपालिकामा ८, बकैया गाउँपालिकामा ६, भीमफेदी गाउँपालिकामा ३, बागमती गाउँपालिका र कैलाश गाउँपालिकामा १–१जनामा डेङ्गु संक्रमण पुष्टि भएको मिझारले बताए ।

वर्खायामको समय भएकाले डेङ्गु संक्रमित अझै बढ्न सक्ने भएकाले स्थानीय तहसँगको समन्वयमा जनचेतनामूलक सन्देश प्रवाह तथा लामखुट्टे मार्ने अभियान अघि बढाइएको मिझारको भनाइ छ ।

डेङ्गु संक्रमणको उच्च जोखिममा रहेको हेटौँडा उपमहानगर क्षेत्रमा लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु भएको छ । हेटौँडा उपमहानगरपालिकाले नगरका विभिन्न वडामा लामखुट्टे लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गरेको हो ।

पानी जम्ने ठाउँलाई पुर्ने, लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने, जोखिम क्षेत्रमा स्प्रे गर्ने तथा डेङ्गुबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद तिवारीले बताए ।