बारा । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटनामा परेको छ । भारतको बिहार राज्यको समस्तीपुरमा शनिबार राति भएको दुर्घटनामा बारागढी गाउँपालिका–३ मुर्तिपलियाका ४५ जना घाइते भएका छन् ।
बसमा २५ महिला र ६ बालबालिकासहित ४७ तीर्थयात्री सवार थिए । तीन जना गम्भीर घाइते छन् । दुई जना सकुशल रहेका छन् ।
कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता प्रकाश सापकोटाका अनुसार गम्भीर घाइतेमा देवनारायण पण्डित, सुवोध साह तेली र ९ वर्षीया बालिका रहेका छन् ।
ना. ७ ख ६४४६ नम्बरको देवदर्शनको बसलाई ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको भारतीय सुरक्षाकर्मीले जानकारी दिएको उनले बताए । सबै तीर्थयात्री बिहारको देवघर बाबाधाम तीर्थाटनका लागि गएका थिए ।
‘बस दुर्घटनामा परेका सबै मूर्तिपलियाका रहेको जानकारी पाइएको छ,’ सापकोटाले भने । घाइतेको समस्तीपुरस्थित सदर अस्पताल र अन्य निजी क्लिनिकमा उपचार भइरहेको उनले बताए ।
भारतका विभिन्न तीर्थस्थलको दर्शन गर्न उक्त बस शनिबार बिहान ११ बजे रक्सौल नाका हुँदै भारत प्रस्थान गरेको थियो । त्यसअघि उनीहरुले गाउँमा सामूहिक पूजापाठसमेत गरेको बताइएको छ । सो बस राजाराम साहको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।