नेपालगन्ज । जुम्लामा उत्पादन भएको स्याउ नेपालगन्जका चोक-चोकमा पाइन थालेको छ । जुम्लाबाट गाडीमा ढुवानी गरेर कोहलपुर ल्याइने स्याउ नेपालगन्जका धम्बोझी, पुष्पलालचोक, भानुचोक, बिपी चोकलगायतका स्थानमा प्रतिकिलो १ सय ६० रुपैयाँमा खरिद गर्न पाइने स्थानीय बताउँछन् ।
कोहलपुरकी शर्मिला कार्कीले प्रतिकिलो २० रुपैयाँ नाफा गरेर जुम्लाको स्याउ बेचिरहेको जानकारी दिइन् । उनले भनिन्, ‘जुम्लाबाट आएको स्याउ ताजा, रसिलो र स्वादिष्ट छ, त्यसैले छिटो बिक्री हुने गरेको छ ।’
एकै पटकमा जुम्लाबाट धेरै परिमाणमा स्याउ आउँछ र कोहलपुरका विभिन्न सटरमा भण्डारण गर्ने गरिएको उनले बताइन् । उनले कोहलपुरबाट किनेर नेपालगन्जमा बिक्री गर्ने गरेकी छन् । ‘जुम्लाबाट आउने स्याउ अर्गानिक र रसिलो भएकाले धेरैले यो स्याउ मन पराउँछन्,’ उनले भनिन् ।
स्थानीय ठेला व्यापारी रामदास कोइरीले तरकारी मण्डीबाट जुम्लाको स्याउ खरिद गरी बिक्री गरिरहेको बताए । उनका अनुसार भारतको सिमलालगायत क्षेत्रबाट नेपालगन्जमा स्याउ ल्याएर बिक्री गरिन्छ ।
जुम्लाको स्याउभन्दा भारतबाट ल्याएको स्याउ हेर्दा आकर्षक हुने भएकाले त्यसको मूल्य बढी हुने गरेको कोइरीको भनाइ छ । जुम्लाको स्याउ प्रतिकिलो १ सय ६० रुपैयाँ छ भने भारतबाट आयात गरिएको स्याउ २ सयदेखि २ सय ५० रुपैयाँसम्म रहेको छ ।
जुम्लाबाट दैनिक चार ट्रक स्याउ आउने गरेको थोक व्यापारी बताउँछन् । जुम्लाबाट एकै जातको स्याउलाई तीन वर्गमा विभाजन गरी ल्याउने गरिएको छ । नेपालगन्ज आएको जुम्लाको स्याउ यहाँबाट बर्दिया र कैलालीसम्म पुर्याउने गरिएको छ ।
जुम्लाको स्याउ अहिले बजारमा ठूलो, मझौला र सानो गरी तीन प्रकारले ‘ग्रेडिङ’ गरी बिक्री हुँदै आएको छ । कर्णाली प्रदेशको जुम्लाबाहेक हुम्ला, कालीकोट, डोल्पा र मुगुबाट पनि स्याउ बिक्रीका लागि ल्याउने गरिएको व्यापारी बताउँछन् ।