• Menu

सुनकोसीमा खसेको गाडी भेटियो, नदीमा बेपत्ता तीन जनाको खोजी जारी

नेपाल प्रफिट

२०८१ भदौ ९, १३:५२

सुनकोसीमा खसेको गाडी भेटियो, नदीमा बेपत्ता तीन जनाको खोजी जारी

सिन्धुली । सुनकोसी नदीमा खसेर शनिबार साँझ बेपत्ता भएको गाडी आइतबार राति २ बजे भेटिएको छ । खोटाङको हलेसीबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेस्थित मध्यपहाडी लोकमार्गबाट नदीमा खसेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको हाइलक्स गाडी भेटिएको हो ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीको धमिलो बहावमा डुबेको गाडी जेसीभीको सहायतामा झिकेर नदी किनारमा राखेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।

आज बिहान घटनास्थलमा पुगेका प्रहरी उपरीक्षक काफ्लेका अनुसार गाडी घटनास्थलबाट ५० मिटर तलबाट झिके पनि गाडीमा सवार चालकसहित तीन जना अझै बेपत्ता छन् ।

बेपत्ता हुनेहरूमा भक्तपुरको जगातीका ३२ वर्षीय अबिन बिके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा छन् । उनीहरूको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र नागरिक खटिएका छन् । गाडीमा चार जना सवार थिए ।

हामफालेर बाँच्न सफल घाइते भक्तपुरको जगातीका २७ वर्षीय सुशान्त कक्षपति सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।