पोखरा । लामेआहालमा रहेको ल्यान्डफिल साइटका कारण प्रदूषण बढेपछि राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको पठनपाठन राधाकृष्ण मन्दिरमा सारिएको छ ।
प्रदूषण बढेकाले ल्यान्डफिल साइटनजिकै रहेको विद्यालय भवनका कोठामा पठनपाठन गर्न असहज बनेपछि उक्त परिसरभन्दा केही माथि रहेको राधाकृष्ण मन्दिरमा विद्यार्थीलाई राखेर पठनपाठन गर्न लागिएको हो ।
विद्यालयमा हाल कक्षा ६ देखि १० सम्मका २८ जना विद्यार्थी आवासीय रुपमा अध्ययन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिए ।
प्रदूषण बढेपछि एक महिनायता मन्दिर परिसरमा राखेर पठनपाठन गराइएको छ । विद्यालयका प्रधानाध्यापक प्रकाश रेग्मीका अनुसार प्रदूषणका कारण विद्यार्थीमा स्वास्थ्य समस्या पनि बढ्दै जान थालेको छ ।
ल्यान्डफिल साइटनजिकै भएकाले दिनदिनै प्रदूषण बढ्दै जाँदा गुरुकुलका विद्यार्थीसँगै राधाकृष्ण ज्येष्ठ नागरिक आश्रममा बस्दै आएका ४५ जना ज्येष्ठ नागरिक पनि समस्यामा परिरहेको राधाकृष्ण मन्दिर सञ्चालक समितिका सचिव घनश्याम खनालले बताए ।
फोहोर बोकेका सवारीसाधन मन्दिरअघिको बाटोबाट जाने–आउने गर्दा ज्येष्ठ नागरिक एवं विद्यार्थीलाई हिँड्डुल गर्न समस्या परिरहेको उनले बताए ।
बढ्दो प्रदूषणका सम्बन्धमा गुनासो आएसँगै महानगरपालिकाबाट फोहरलाई व्यवस्थित रुपमा माटोले पुर्ने काम थालिएको पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिए । फोहोर व्यवस्थापनको काम भइरहे पनि गर्मी र वर्षातको समय भएकाले समस्या भइरहेको उनको भनाइ छ ।