• Menu

पशुमा कृत्रिम गर्भाधान गराउने किसानको संख्यामा वृद्धि

नेपाल प्रफिट

२०८१ भदौ ९, १३:४१

पशुमा कृत्रिम गर्भाधान गराउने किसानको संख्यामा वृद्धि

चितवन । चितवनमा रहेका पशुपालक किसानमा कृत्रिम गर्भाधानतर्फ आकर्षण बढ्दै गएको छ । पशु सेवा कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा पशुलाई कृत्रिम गर्भाधान गराउने किसानको संख्यामा वृद्धि भएको हो ।

कार्यालयका अधिकृत भीम भट्टका अनुसार गत आव २०८०/८१ मा ६६ हजार ४ सय ७५ पशु चौपायामा कृत्रिम गर्भाधान गराइएको छ । गत आवमा ५९ हजार ९ सय ३२ गाई, ६ हजार २ सय ८१ भैँसी र २ सय ६२ बाख्रामा कृत्रिम गर्भाधान गराइएको छ ।

आव २०७९/८० मा ६१ हजार ८ सय ९५ पशुमा कृत्रिम गर्भाधान गराइएको थियो । सो आवमा ५६ हजार ५ सय ९४ गाई, ५ हजार १ सय ६९ भैँसी र १ सय ३२ बाख्रामा कृत्रिम गर्भाधान गराइएको थियो ।

उनका अनुसार पशुपालक किसानको संख्यामा वृद्धि भएपछि कृत्रिम गर्भाधानको संख्या पनि वृद्धि भएको हो । किसानले राँगो र साँढे पाल्ने प्रचलन घट्दै जाँदा कृत्रिम गर्भाधान गराउने पशुको संख्या बढेको हो ।

भट्टले भने, ‘भैँसीमा कृत्रिम गर्भाधान गराउनेको संख्या उल्लेख्य रूपमा बढ्न सकेको छैन ।’ भैँसीले गर्भाधान गर्ने समय किसानलाई थाहा नहुने भएकाले भैँसीको कृत्रिम गर्भाधान कम हुने गरेको उनको भनाइ छ ।

गाई, भैँसीले गर्भाधानका लागि गोरु, राँगा खोजेको समयमा १२ घण्टादेखि १८ घण्टाभित्र गर्भाधान गराउनुपर्ने हुन्छ । समयमा भैँसीलाई गर्भाधान गराउन कठिन हुँदा अहिले पनि किसानले राँगो लगाउने गरेको भट्टले बताए ।

उनले भने, ‘भैँसी चरनका लागि लैजाने क्रममा राँगो लाग्ने हुँदा पनि भैँसीको संख्यामा कमी आएको हो ।’ जिल्लामा हाल ९२ हजार २ सय ५६ गाई, ७२ हजार २ सय भैँसी र ३ लाख बाख्रा पालिएको पशु कार्यालयको तथ्यांकमा उल्लेख छ ।