• Menu

दशगजामा भारतीय नागरिकद्वारा बाटो खन्ने प्रयास, नेपालीले गरे अवरोध

नेपाल प्रफिट

२०८१ भदौ ९, १०:३५


झापा । झापाको कचनकवल गाउँपालिका-१ घेराबारीस्थित नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि नेपालीले अवरोध गरेका छन् ।

गए रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गरिएको कचनकवल-१ का वडाध्यक्ष रञ्जित लिम्बूले जानकारी दिए । ‘दशगजामा भारतीय नागरिकले बाटो खनेको थाहा पाएपछि हामीले रोकेका हौँ,’ उनले भने, ‘मान्छे नभएका बेला राति-राति बाटो खन्ने गरिएको रहेछ ।’ यसअघि पनि पटक-पटक बाटो खन्न खोज्दा अवरोध गरेको उनले बताए ।

हाल उक्त स्थानमा करिब १५० मिटर बाटो खनिसकिएको छ । ‘हामीले खनिएको बाटो पुर्ने प्रयास गरेका छौं,’ उनले भने, ‘तर हामीलाई दिइएको छैन ।’ कचनकवल-१ को वडा कार्यालयदेखि करिब चार सय मिटर बाटो दशगजामा खनिएको उनले जानकारी दिए ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले दशगजानजिकै सडक खनिएपछि दुवै पक्षबीच विवाद भएको बताए । विवाद बढेपछि काम बन्द गरेर छलफल भइरहेको जानकारी उनले दिए ।