• Menu

निर्यात व्यापारमा उच्च गिरावट

साउनमा मात्रै साढे ३ अर्बको स्मार्टफोन आयात

नेपाल प्रफिट

२०८१ भदौ ८, शनिबार १३:१५

निर्यात व्यापारमा उच्च गिरावट

काठमाडौँ । नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख रुपैयाँबराबरको वैदेशिक व्यापार गर्दा एक खर्ब १६ अर्ब १५ करोड रुपैयाँ घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार साउनमा नेपालले एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँबराबरको वस्तु आयात गर्दा १२ अर्ब २२ करोड ६१ लाखको मात्रै निर्यात गरेको हो ।

विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवको पहिलो महिनामा आयात ०.६७ प्रतिशतले घटेको छ भने निर्यात ९.६३ प्रतिशतले घटेको छ । साउनमा नेपालले भारतसँग मात्र ७० अर्ब १० करोड ४२ लाख रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको विभागले जनाएको छ ।

चालु आवको पहिलो महिना भारतबाट ७७ अर्ब ६८ करोड ३१ लाख रुपैयाँबराबरको आयात गर्दा सात अर्ब ५७ करोड ८८ लाख रुपैयाँको निर्यात गरेको छ । नेपालले दोस्रो ठूलो वैदेशिक व्यापार गर्ने अर्को छिमेकी मुलुकसँग यस अवधिको व्यापार घाटा २४ अर्ब ३८ करोड ४७ लाख बराबर छ ।

साउनमा चीनबाट २४ अर्ब ५४ करोड २३ लाखको आयात हुँदा १५ करोड ७६ लाख रुपैयाँबराबरको मात्रै निर्यात भएको हो । कतार, युक्रेन, अस्ट्रेलिया, बहराइन, मलेसियालगायतका मुलुकसँग पनि नेपालको व्यापार घाटा उच्च छ ।

चालु आवको पहिलो महिनामा नेपालले वैदेशिक व्यापार गरेका मुलुकमध्ये १३  मुलुकसँग भने व्यापार नाफा छ । सबैभन्दा धेरै संयुक्त अधिराज्यसँग १८ करोड ३४ लाख ६६ हजार रुपैयाँबराबर व्यापार नाफा देखिएको छ । अफगानिस्तान, बेल्जियम, रुस, मौरिससलगायत मुलुकसँग व्यापार नाफा देखिएको छ ।

नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ, फलामजन्य वस्तु, स्मार्टफोन, कच्चा सूर्यमुखी तेललगायत छन् । एक महिनामा मात्र नेपालले ६ अर्ब ९८ करोड ७१ लाख रुपैयाँबराबरको डिजेल, पाँच अर्ब ६९ करोड ३५ लाखबराबरको पेट्रोल र चार अर्ब ८२ करोड ६६ लाख रुपैयाँबराबरको खाना पकाउने ग्यास आयात गरेको छ ।

त्यस्तै, साउनमा तीन अर्ब ४६ करोड ६३ लाख रुपैयाँबराबरको स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट, चिया, स्टिल, धागोलगायत छन् । साउनमा नेपालले एक अर्ब ११ करोड ७५ लाख रुपैयाँबराबरको कार्पेट निर्यात गरेको छ ।