• Menu

काँकडभिट्टा नाकाबाट पाँच वर्षमा करिब ९० हजार ई-रिक्सा आयात

नेपाल प्रफिट

२०८१ भदौ ७, शुक्रबार १३:५७

काँकडभिट्टा नाकाबाट पाँच वर्षमा करिब ९० हजार ई-रिक्सा आयात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट ई-रिक्साको आयात बर्सेनि बढिरहँदा परम्परागत पाइडल रिक्सा लोप भएका छन् । पाँच वर्षमा ८९ करोड ४३ लाख ३६ हजार १६१ रुपैयाँबराबरको १० हजार १६४ वटा ई-रिक्सा आयात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलले बताए ।

उनका अनुसार आर्थिक वर्ष २०८/८१ मा ४१ करोड २० लाख ३९ हजार ९५९ रुपैयाँ मूल्य बराबरको ४ हजार ६४५ ई-रिक्सा पूर्वीनाकाबाट भित्रिएको छ ।

आव २०७९/८० को तुलनामा गत वर्षको आयात दोब्बरभन्दा बढी हो । आव २०७९/८० मा १६ करोड ७१ लाख १९ हजार दुई सय १३ रुपैयाँबराबरको १ हजार ८५९ ई-रिक्सा आयात भएको थियो ।

ई-रिक्साको आयात महसुलबापत मेची भन्सार कार्यालयले विगत ५ वर्षमा ३१ करोड ३७ लाख ३२९ राजस्व असुली गरेको भन्सारले जनाएको छ ।

आव २०७६/७७ मा यही नाकाबाट ८ करोड ८१ लाख ५१ हजार ८४० मूल्यबराबरको १ हजार ३२ वटा ई-रिक्सा आयात भएको थियो भने आव २०७७/७८ मा ८ करोड ७२ लाख ७ हजार ९९९ रुपैयाँबराबरको १ हजार ११५ आयात भएको थियो ।

तथ्यांकले ई-रिक्साको आयात बर्सेनि निरन्तर बढेको देखाउँछ । आव २०७८/७९ मा १३ करोड ९८ लाख १७ हजार १५० मूल्यबराबरको १ हजार ५१३ वटा ई-रिक्सा आयात भएको थियो ।

विगत ५ वर्षयता सहर बजारमा विद्युतीय रिक्साले छोटो दूरीको सवारीमा एकछत्र सेवा पुर्‍याउँदै आएको छ । विद्युतीय रिक्सा भित्रिएपछि परम्परागत पाइडल रिक्सा लोप भइसकेका छन् ।

विद्युतीय रिक्सा ब्याट्रीबाट चल्ने हुँदा यसलाई घरमै चार्ज गरेर चलाउन सकिन्छ भने चालकलाई यसले थप सुविधाजनक तुल्याएको छ ।

विगतमा परम्परागत रिक्सा चलाउनेहरुले अहिले ई-रिक्सा खरिद गरेर गुजारा चलाउन थालिसकेका छन् । यसैबीच, पूर्वीनाका काँकडभिट्टा हुँदै विगत ५ वर्षमा २ करोड ४० लाख १३ हजार २४७ रुपैयाँबराबरको १४५ वटा तीन पांग्रे स्कुटर भन्सार महसुल छुटमा आयात भएको छ ।

मेची भन्सार कार्यालयबाट प्राप्त तथ्यांकअनुसार फरक क्षमता भएका शारीरिक अशक्त व्यक्तिले प्रयोग गर्ने तीन पांग्रे स्कुटर भन्सार छुटमा आयात गर्दा प्रज्ञापन पत्रबापत ५ सय र मूल्य अभिवृद्धि करबापत ६५ मात्र महसुल बुझाउनुपर्छ ।