• Menu

पर्वतमा एक वर्षमा सात चितुवा मृत भेटिए

नेपाल प्रफिट

२०८१ भदौ ६, १५:४३

पर्वतमा एक वर्षमा सात चितुवा मृत भेटिए

पर्वत । जिल्लाका विभिन्न स्थानमा एक वर्षको अवधिमा ७ वटा चितुवा मृत अवस्थामा भेटिएका छन् । डिभिजन वन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न स्थानबाट सातवटा चितुवा मृत भेटिएका हुन् ।

कार्यालय प्रमुख झ्यामनारायण सापकोटाले पुस १ देखि जेठसम्ममा पोथी चितुवा र चितुवाका बच्चा मृत अवस्थामा भेटिएको जानकारी दिए ।

पुस १ मा बिहादी गाउँपालिका–२ बर्राचौरमा बच्चा चितुवा, पुस ९ चुवामा एउटा भाले र एउटा पोथी, पुस १२ बाजुङ्मा २ वटा चितुवा मृत फेला परेपछि कार्यालयका टोली पुगेर उद्धार गरेको थियो ।

वैशाख १८ मा कटुवाचौपारीको चिन्नेखोलामा भाले चितुवा र जेठ १३ मा खुर्कोटमा एउटा पोथी चितुवा मृत अवस्थामा फेला परेका कार्यालयले जनाएको छ ।

वन क्षेत्रको वृद्धि, चितुवाका लागि उपयुक्त बासस्थान र आहारको व्यवस्था मिल्दा पछिल्लो समय चितुवाको संख्या वृद्धि हुँदै गएको उनले बताए । ‘गाउँघरमा रातिको समयमा पशुचौपायामाथि चितुवाले आक्रमण गर्ने क्रममा मृत्यु भएको हुनसक्छ । मृत भेटिएकामा बच्चा चितुवा पनि छन्, यसको कारण आहारको खोजी हुनसक्ने अनुमान गरेका छौँ,’ उनले भने ।

मृत अवस्थामा भेटिएका चितुवाको प्रकृति हेर्दा अरूको आक्रमणमा परेकोजस्तो नदेखिएको सापकोटाले बताए ।

‘अहिले खाद्य चक्रमा समस्या आइरहेकाले तिनीहरूको मृत्यु भएको हुन सक्छ । कोही पानी खान जाँदा पोखरीमा डुबेर मरेको पनि भेटियो । बाघको जस्तै उपयोगिता चितुवाको नहुने भएकाले मानिसले चितुवालाई मार्ने गरेको खासै भेटिएको छैन,’ उनले भने ।

चितुवाका बच्चासमेत मृत भेटिएकाले आमाहरू आहाराको खोजीमा निस्किने र आहारा नपाउँदा केही समय बासस्थानमा नफर्कदा बच्चाहरू भोकले मरेको हुनसक्ने उनको भनाइ छ ।

आहाराका लागि घाँसेमैदान आवश्यक पर्ने भन्दै उनले पहाडी वनमा त्यति धेरै घाँसे मैदान नहुने, हरिण, मृर्ग लगायत जनावरको संख्या कमी हुँदै जाँदा खाद्य संकट परेको हुन सक्ने उनले बताए ।

पर्वतमा आव २०७९/८० मा ९ वटा चितुवा मृत अवस्थामा उद्धार गरिएको थियो । उक्त वर्ष दुई चितुवाको जिउँदै अवस्थामा उद्धार गरिएको थियो ।