धनुषा । गृहमन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व, दिगो विकास, सुशासन प्रवर्धन तथा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ वर्तमान सरकार गठन भएको बताएका छन् । ती लक्ष्य पूरा गर्न राज्यका सबै संयन्त्रका साथै समाजका हरेक वर्गको सहयोग अपरिहार्य भएको उनको भनाइ छ ।
जनकपुर विमानस्थलमा पत्रकारहरूसँग भएको संक्षिप्त कुराकानीमा मन्त्री लेखकले वर्तमान सरकारका विकासका प्राथमिकता एवं नेपाल प्रहरीको संगठनात्मक संरचना सुधारसम्बन्धी कानुन जारी हुने जानकारी गराए ।
उनले भने, ‘नेपाल प्रहरीको ऐन ६९ वर्ष पुरानो भयो, यसमा सामयिक परिमार्जन आवश्यक छ । नयाँ कानुन निर्माण तथा संगठनात्मक क्षमता बढाएर प्रहरीलाई अझ व्यावसायिक बनाउनुपर्छ । नेपाल प्रहरीसम्बन्धी ऐन परिमार्जन गरेर बजेट व्यवस्थापनका निम्ति त्यो अर्थ मन्त्रालयमा पुगिसकेको छ ।’