• Menu

बेलायतको भिसा त्यागेर किवीखेती थालेका लालबहादुरले पहिलो वर्ष नै कमाए अढाइ लाख

रासस

२०८१ भदौ ५, बुधबार १३:२८

बेलायतको भिसा त्यागेर किवीखेती थालेका लालबहादुरले पहिलो वर्ष नै कमाए अढाइ लाख

म्याग्दी । किवीखेतीमा संलग्न नभएको भए बेनी नगरपालिकाको भकिम्ली बस्ने ४१ वर्षीय लालबहादुर पुन यतिबेला युरोप, अमेरिका र खाडीका कुनै देशमा श्रम र पसिना बगाइरहेका हुन्थे ।

२०७५ सालमा बेलायत जाने तयारी गरेका लालबहादुरको योजना वडा कार्यालयले सञ्चालन गरेको किवीखेतीसम्बन्धी तालिममा सहभागी भएपछि स्थगित भयो ।

‘दुई वर्ष मलेसिया र तीन वर्ष बहराइनमा काम गरेर आएपछि आफन्तमार्फत बेलायत जाने भिसा पनि लागेको थियो,’ उनले भने, ‘बेलायतको राहदानी त्यागेर सुरु गरेको किवीखेतीले सफलता मिल्न थालेको छ । घरपरिवारसँगै बसेर रोजगार र आत्मनिर्भर हुन पाएकोमा सुखी र सन्तुष्ट छु ।’

सचिन्द्रा कृषि तथा पशुपन्छी फार्म खोलेर मकै र कोदोको विकल्पमा करिब १७ रोपनी पाखोबारीमा लगाएको २५० बोट किवीले आम्दानी दिन थालेको छ । गत वर्ष प्रतिकिलो २५० रुपैयाँका दरले १० क्विन्टल किवी बेचेका पुन यसपाली राम्रो फल लागेकाले उत्पादन र आमदानी बढ्ने आशामा छन् ।

किवीखेतीसँगै फर्निचर उद्योग पनि सञ्चालन गरेका पुनले आफू र श्रीमती बाहेक तीन जनालाई रोजगारी दिएका छन् । बाख्रापालन पनि सहायक पेसाको रुपमा रहेको छ ।

कृषि ज्ञान केन्द्र, बेनी कृषि शाखा र वडा कार्यालयमार्फत प्राविधिक तालिम, नि:शुल्क र अनुदानमा किवीका बिरुवाका साथै सिँचाइका लागि ड्रम सहयोग गरेका छन् । वडा अध्यक्ष पदम पुनका अनुसार भकिम्लीका २० जनाभन्दा बढीले व्यावसायिक किवीखेती गरेका छन् ।

‘हावापानी र भूगोल अनुकूल भएकाले भकिम्लीको माथिल्लो क्षेत्रमा किवी र तल्लो भेगमा सुन्तलाखेती प्रवर्धनमा जोड दिएका छौँ,’ उनले भने, ‘किवी र सुन्तलाखेती गरेकामध्ये धेरैजसो विदेशबाट फर्किएका युवा छन् । व्यावसायिक कृषिमा आबद्ध गराएर युवालाई विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयास गरेका छौँ ।’

लछु पुनले १० वर्षअघि भकिम्लीमा किवीखेती भित्र्याएका थिए । अनुकूल हावापानी, खेती गर्न सजिलो र छिटो आम्दानी लिन सकिने भएकाले उच्च पहाडी भूगोलमा अवस्थित भकिम्ली, मुसुङ, डोले, मड्केना, छाप टोलमा अहिले व्यावसायिक किवीखेती विस्तार भएको छ ।

लगाएको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलो फल लाग्ने गर्छ । समुद्री सतहदेखि १ हजार ५०० देखि २ हजार मिटरको उचाइमा किवीखेती गर्न सकिने कृषि अधिकृत आकृति ढुंगानाले बताइन् । पाचन प्रक्रियालाई सहयोग गर्ने किवीबाट जाम र वाइन पनि बनाउन सकिन्छ ।

अमिलो र गुलियो स्वाद पाइने किवीलाई नेपालीमा ठेकी फलको रुपमा चिन्ने गरिएको छ । किवी चीनमा विकास भएको फलफूल हो । न्युजिल्यान्डले किवीलाई प्रमुख फलफूल बालीको मान्यता दिएको छ । सोयु, ब्रुनो, हेवार्ड, आलिसान, टोमरी, मन्टी जातको किवीको बिरुवाको मूल्य सरकारी दररेट अनुसार प्रतिगोटा १०० रुपैयाँ छ । निजी नर्सरीबाट ३०० रुपैयाँसम्ममा बिक्री हुन्छ ।

आठवटा पोथी बिरुवाबराबर एउटा भाले किवीका बिरुवा लगाउनुपर्छ । लहरा भएर फैलिने किवी एक रोपनीमा १५ वटासम्म किवीका बिरुवा लगाउन सकिन्छ । फूल खेल्ने बेलामा असिनाबाट जोगाउनु किवीखेतीको मुख्य चुनौती हो ।

किवीलाई बजारीकरण र सुरक्षित भण्डारण गरेर बेमौसममा बजारमा लैजानका लागि चिस्यान गृह स्थापनाका लागि पहल गरेको पुनले बताए ।