• Menu

झापाका १२ स्थानीय तहका आफ्नै अस्पताल

नेपाल प्रफिट

२०८१ भदौ ५, बुधबार ११:३१

झापाका १२ स्थानीय तहका आफ्नै अस्पताल

झापा । झापाका १५ मध्ये १२ वटा पालिकाले न्यूनतम १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएका छन् । पालिका आफैंले सञ्चालन गरेका अस्पतालमा आपतकालीन, प्रसूति, प्रयोगशाला र अल्ट्रासाउन्ड लगायतका सेवा उपलब्ध छन् ।

प्रादेशिक अस्पतालदेखि मेडिकल कलेजको अनुमति प्राप्त बी एन्ड सी अस्पतालसमेत रहेको जिल्लामा १५ शय्याभन्दा बढी क्षमताका थुप्रै अस्पताल निजी क्षेत्रबाट सञ्चालित छन् । निजी क्षेत्रका ठूला अस्पतालमा एमआरआई सेवासमेत उपलब्ध छ ।

मेचीनगर, कनकाई र गौरादह नगरपालिकामा नगर अस्पताल सञ्चालन भइरहेका छन् भने बुद्धशान्ति, हल्दिबारी, कमल, बाह्रदशी, झापा र गौरीगन्ज गाउँपालिकामा आधारभूत अस्पतालमार्फत पालिकाबासीले स्वास्थ्योपचार सेवा पाइरहेको स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चुडामणि लुइँटेलले बताए ।

दमक, बिर्तामोड र अर्जुनधारामा नगर क्षेत्रभन्दा बाहिरसमेत सेवा दिने गरी बढी क्षमताको अस्पताल सञ्चालनमा छन् । कचनकबल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । ती पालिकाले आधारभूत अस्पताल सञ्चालनका लागि तयारी गरिरहेको जनाएका छन् ।

जिल्लाको पुरानो सदरमुकाम भद्रपुर नगरपालिकामा सुविधा सम्पन्न प्रादेशिक अस्पताल छ भने बिर्तामोड, दमक, भद्रपुर, मेचीनगर र कनकाईमा निजी क्षेत्रका ठूला अस्पताल छन् ।