म्याग्दी । आर्थिक वर्ष २०८१/८२ मा किसानलाई अनुदान वितरण गर्न ९ करोड ६ लाख बजेट प्राप्त भएको छ । संघीय सरकारअन्तर्गतको कृषि ज्ञान केन्द्रमार्फत ३ करोड ३३ लाख २५ हजार, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट २ करोड ५२ लाख २१ हजार र संघीय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइबाट ३ करोड २१ लाख ६८ हजार बजेट प्राप्त भएको हो ।
आधुनिकीकरण परियोजनाको बजेटबाट मुस्ताङ, पर्वत र बागलुङका किसानले पनि सुविधा पाउनेछन् । कुल लागतको ५० देखि ८५ प्रतिशतसम्म अनुदान प्राप्त हुने कार्यक्रमका लागि ३ वटै कार्यालयले सार्वजनिक सूचनामार्फत प्रस्ताव आह्वान गरेका छन् ।
खाद्यान्न, फलफूल, सागसब्जी, तेलहन, दलहन उत्पादन गरी जिल्लालाई आत्मनिर्भर बनाउनुका साथै निर्यात गरी किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले चालु आवमा कृषि र पशुपालनमा बजेट केन्द्रित गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलले बताए ।
खायन आलु उत्पादन तथा प्रवर्धन कार्यक्रमलाई १ करोड २० लाख ६ हजार, फलफूल बाली विकास र रैथाने बाली प्रवर्धन आयोजनाका लागि २१ लाख, तरकारी बाली प्रवर्धन आयोजनाका लागि १५ लाख ५० हजार, पोषण सुरक्षण कार्यक्रमका लागि २० लाख र सुन्तला जात फलफूल विकास आयोजनालाई ६७ लाख रुपैयाँ विनियोजन भएको छ ।
पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा. भरत रेग्मीले मासु, दुध, अण्डा उत्पादन वृद्धि गरी जिल्लालाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने कार्यक्रमा बताए । पशुलाई पूर्ण खोप कार्यक्रमका लागि सबैभन्दा बढी ८० लाख बजेट प्राप्त भएको छ ।
यसैगरी बृहत्तर पशु विकास प्रवर्धन कार्यक्रमलाई २० लाख, दुध उत्पादक किसानलाई अनुदानका लागि १० लाख, कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका पाडापाडी हुर्काउने किसानका लागि ३ लाख, घुम्ती गोठ संरक्षणका लागि ४ लाख, बाँझो जग्गामा घाँसखेती गर्नेलाई पाँच लाख, कृषि ऋणमा ब्याज अनुदान १ लाख र मत्स्य पोखरी निर्माण तथा क्षेत्र विस्तारका लागि ३ लाख रुपैयाँ बजेट प्राप्त भएको छ ।
कृषि अधिकृत विक्रम बस्यालले म्याग्दी, बागलुङ र पर्वतमा सञ्चालन भएको सुन्तला तथा मुस्ताङको स्याउ जोन क्षेत्रमा सिँचाइ सुविधा विस्तारका लागि ६० लाख विनियोजन भएको जानकारी दिए ।
बंगुरपालन किसानका लागि नश्ल सुधार तथा उत्पादन वृद्धि, यान्त्रिकरण र मासु पसल सुधारका लागि १८ लाख, सुन्तला जोन कार्यक्रममार्फत सिँचाइ पूर्वाधार निर्माण तथा मर्मत सम्भारका लागि १६ लाख, कृषि उपज संकलन केन्द्रलाई ८ लाख, बजारीकरणका लागि १५ लाख र यान्त्रीकरणका लागि १० लाख रुपैयाँ बजेट प्राप्त भएको छ ।
पूर्वाधार निर्माणसम्बन्धी कार्यक्रममा अधिकतम ८५ प्रतिशत तथा यन्त्र उपकरण, पाइप तथा ड्रम, बीउ, बेर्ना, विषादीलगायत सामग्री खरिदमा अधिकतम ५० प्रतिशत अनुदान सहयोग हुने कृषि अधिकृत बस्यालले जानकारी दिए ।