• Menu

पाँच महिनादेखि बन्द नेपाली कागज उद्योग पुनः सञ्चालन

नेपाल प्रफिट

२०८१ भदौ ४, १५:०८

पाँच महिनादेखि बन्द नेपाली कागज उद्योग पुनः सञ्चालन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ अधिबारामा ५ महिनादेखि बन्द रहेको मालिका कागज उद्योग पुनः सञ्चालन भएको छ । कच्चापदार्थ र कामदारको अभाव, विद्युत् आपूर्तिमा अनियमितताले बन्द रहेको सो उद्योग पुनः सञ्चालन भएको हो ।

शनिबारदेखि उक्त उद्योगले पुनः व्यावसायिक उत्पादन सुरू गरेको छ । उद्योगका सञ्चालक मोतीराज गौतमका अनुसार स्थानीय हाते प्रविधिबाट उत्पादन गरिने कागज उद्योगमा उच्च गुणस्तरको कागज उत्पादनको माग बढेसँगै पुनः नेपाली कागज उत्पादन सुरू गरेको बताए ।

‘यहाँ उत्पादित कागजलाई बजारको समस्या छैन, कच्चापदार्थ र कामदारको समस्याले नियमित सञ्चालनमा समस्या छ,’ उनले भने, ‘अब नियमित उत्पादन र मागअनुसार पूर्ति गर्ने योजना छ ।’ बजारमा कागजको माग अत्यधिक हुँदा पनि उत्पादन गर्न नसकिरहेको उनले जानकारी दिए ।

उद्योगमा विभिन्न आकारका कागजको माग हुने गरेकामा सरकारी तथा गैरसकारी कार्यालय कागज, तमसुक कागज, १८–२० ग्रामको कागज, धूप निर्माण गर्ने ६–७ ग्रामको कागज, चिना निर्माणका लागि ४० ग्रामको कागजसहित विभिन्न प्रयोजनका लागि बिक्री हुने गरेको छ ।

उद्योगमा चुनौती रहेको अवस्थामा कच्चापदार्थ लोक्ता अभाव, विद्युत अनियमितता, उपकरण फ्रेम मर्मतसम्भार, विद्युतबाट लोक्ता (कागज बनाउन प्रयोग गरिने कच्चापदार्थ) पकाउँदा हिटरको रड बढी जल्नेजस्ता समस्याले उद्योगको क्षमताअनुसार कागज उत्पादन गर्न नसकिएको गुनासो गौतमले गरे ।

स्थानीय तह र सम्बन्धित निकायबाट सहयोग हुने, उद्योगमैत्री वातावरण मिल्ने र डिभिजन वन कार्यालयले कागज बनाउन प्रयोग गरिने कच्चापदार्थ लोक्ताको संकलन गर्न सरल नीति बनाएमा म्याग्दीका अन्य स्थानमा पनि कागज उद्योग सञ्चालन गर्न सकिने जनाइएको छ ।

पहाडी भेगमा पर्ने लेकाली सरकारी तथा सामुदायिक वनमा प्रशस्त बिरुवा (लोक्ता)का बोट छन् । लोक्ता (पुवा) पाइने स्थानमा पनि निकाल्ने कामदारको अभावले वनजंगलमै खेर गएको छ ।

२०७५ सालमा स्थापना भएको उद्योगले बेनी, बागलुङ, पोखरा, काठमाडौँ, चितवनलगायत सहरमा बिक्री गर्ने गरिन्छ । जिल्लाको अन्नपूर्ण गाउँपालिकाको नागी, धवलागिरिको लमजुङ, रघुगंगाको पाखापानीमा रहेका नेपाली कागज उद्योग अहिले बन्द अवस्थामा छन् ।