पर्सा । प्रमुख भन्सार नाका मानिने वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व संकलन गरेको छ ।
भन्सार विभागले वीरगन्ज भन्सारका लागि साउनमा १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकोमा लक्ष्यको ७२.११ प्रतिशत संकलन भएको हो ।
सूचना अधिकारी रघुलाल कर्णले चालु आवको पहिलो महिनामा राजस्व संकलन उत्साहप्रद रहेको बताए । ‘साउन खासै धेरै वैदेशिक व्यापार हुने महिना होइन,’ उनले भने, ‘पहिलो महिनामै १२ अर्बभन्दा धेरै राजस्व संकलन हुनुलाई उत्साहजनक मान्नुपर्छ ।’
गत साउनमा १५ अर्ब ६२ करोड ३७ लाख ७२ लक्ष्य निर्धारण गरेकोमा ७५.९६ प्रतिशत अर्थात् ११ अर्ब ८६ करोड ८४ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
साउनमा वीरगन्ज भन्सार हुँदै ४६ अर्ब ५९ करोड २६ लाख ९६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । यो परिमाण गत वर्षको साउनको तुलनामा ३.५३ प्रतिशतले कम हो । आव २०८०/८१ साउनमा भन्सार कार्यालय हुँदै ४८ अर्ब २९ करोड ६० लाख १६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो ।
चालु आवको पहिलो महिनामा भन्सार कार्यालय हुँदै स्वदेशी वस्तु निर्यातको परिमाण भने बढेको छ । चालु आवको पहिलो महिनामा २ अर्ब ६५ करोड ६६ लाख ६८ हजार मूल्य पर्ने स्वदेशी सामान निर्यात भएको छ ।
२०८०/८१ साउनमा २ अर्ब ४७ करोड ९१ लाख ६७ हजार मूल्य पर्ने वस्तु तथा सामान निर्यात भएको थियो । गत आवको तुलनामा चालु आवको साउनमा ७.१६ प्रतिशतले निर्यात बढेको हो । आयातको हिस्सा ९५ प्रतिशत र निर्यातको हिस्सा ५ प्रतिशत छ ।