• Menu

प्राकृतिक विपदमा परी ज्यान गुमाएका परिवारलाई कर्णाली सरकारद्वारा ६ करोड राहत उपलब्ध

नेपाल प्रफिट

२०८१ भदौ ४, १२:४९

प्राकृतिक विपदमा परी ज्यान गुमाएका परिवारलाई कर्णाली सरकारद्वारा ६ करोड राहत उपलब्ध

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्का घटनामा परी ज्यान गुमाएका परिवारलाई ६ करोड रुपैयाँबराबरको राहत रकम उपलब्ध गरएको छ । २०७६ चैतदेखि साउन पहिलो साता २०८१ सम्ममा ३ सय ४४ पीडित परिवारलाई प्रदेश सरकारले सामूहिक बिमाबापत ६ करोड ८८ लाख राहत उपलब्ध गराएको हो ।

पहिलो चरणमा विभिन्न प्राकृतिक विपदमा परी ज्यान गुमाएका ५९ जनाका परिवारलाई बिमाबापत १ करोड १८ लाख रकम प्रदान गरिएको थियो । प्रतिव्यक्ति २ लाखका दरले दोस्रो चरणमा ४७ जनालाई ९४ लाख, तेस्रो चरणमा ६६ जनालाई १ करोड ३२ लाख र चौथो चरणमा १ सय ७२ जनालाई ३ करोड ४४ लाख बिमा रकम प्रदान गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । उक्त रकम राष्ट्रिय बिमा कम्पनीमार्फत उपलब्ध गराइएको हो ।

मन्त्रालयले गत २०८०/८१ को साउनदेखि असार मसान्तसम्म भूकम्प, बाढी, पहिरो, चट्याङ, आगलागीजस्ता प्राकृतिक विपद्बाट मृत्यु भएका १ सय ७१ जनाका परिवारलाई ३ करोड ४२ लाख भुक्तानी गरेको छ ।

विशेषगरी जाजरकोट भूकम्पमा परी मृत्यु भएका १ सय ५१ व्यक्तिका परिवारलाई २ लाखका दरले ३ करोड बिमामार्फत भुक्तानी गरिएको मन्त्रालयका विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाले जानकारी दिए ।

उनका अनुसार कागजी प्रक्रिया नमिलेका कारण जाजरकोट भूकम्पबाट मृत्यु भएका ३ जनाको रकम भुक्तानी प्रक्रियामा छ । त्यसैगरी गत वर्ष भूकम्पबाहेक अन्य विपदमा परी मृत्यु भएका २० जनाका परिवारलाई ४० लाख बिमामार्फत भुक्तानी गरिएको छ । कर्णालीका १७ लाख व्यक्तिको विपद् सामूहिक दुर्घटना बिमा गरेअनुसार बिमा रकम उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।