• Menu

ताराखोले आलु किन्न किसानका बारीमै पुग्छन् व्यापारी, खडेरीले उत्पादन भने घट्यो

नेपाल प्रफिट

२०८१ भदौ ४, ११:५६

ताराखोले आलु किन्न किसानका बारीमै पुग्छन् व्यापारी, खडेरीले उत्पादन भने घट्यो

बागलुङ । बागलुङको वर्षे आलु उत्पादन अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतले घटेको छ । गत वर्षको कात्तिकदेखि वैशाखसम्मको खडेरीले वर्षे आलु उत्पादन ५ प्रतिशत घटेको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत कुमार पुनले बताए ।

उनका अनुसार विशेषगरी ताराखोला र ढोरपाटनमा लगाइएको आलुमा कमी आएको छ । बागलुङको ताराखोला र ढोरपाटनमा हिउँदमा लगाएर बर्खामा आलु खन्ने गरिन्छ । कात्तिकमा लगाएर फागुन–चैतमा खन्ने आलुमा भने खासै असर परेको छैन ।

ताराखोले आलुको स्वाद र तत्कालै नबिग्रने हुँदा धेरैको रोजाइमा पर्ने गरेको अधिकृत पुन बताउँछन् । गाउँपालिकाका कृषि शाखा प्रमुख सञ्जीव थापाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ताराखोलाभित्र तीन हजार दुई सय ९७ मेट्रिक टन आलु फलेको छ ।

एक सय ८४ हेक्टरमा किसानले आलु लगाएको शाखाको तथ्यांक छ । रासायनिक मल प्रयोग नगरेकाले उपभोक्ताले पनि ताराखोलाको आलु भनेपछि खोजीखोजी खाने गरेका छन् । खडेरीकै कारण उत्पादन भने कमी भएको थापाले बताए ।

ताराखोला अर्गलका किसान अमृत घर्तीले आलुलाई उपयुक्त वातावरण भएकाले मिठो भएको जानकारी दिए । विकासे आलु प्रयोग नगर्ने, रासायनिक मल नहाल्ने र जैविक मल प्रयोग गर्दा आलुको स्वाद मिठो भएको उनको ठहर छ । ‘यसकारण पनि किसानले आलुको बजार खोज्नै परेको छैन,’ उनले भने, ‘तर खडेरीलगायत समस्याका बेला भने राज्यले साथ दिनुपर्छ ।’

किसानले आलु जिप र ट्रयाक्टरमा बजार पठाउने गरेका छन् । बागलुङ बजारका ठूला र होलसेल व्यापारीले ताराखोलाको आलु भनेपछि गाडी पठाएरै लैजान्छन् । कृषि ज्ञान केन्द्रले पनि ताराखोला, काठेखोला र ढोरपाटन क्षेत्र आलुका लागि विशेष क्षेत्र मानेर उत्पादनमा सहयोग गर्दै आएको छ ।

तर खडेरी, अतिवृष्टि र असिनाको क्षतिमा न्यूनीकरण गर्न सकिएको छैन । ‘असिनाले क्षति भएमा केही राहत दिने कार्यक्रम भए पनि रोक्ने वा उत्पादन जस्ताको तस्तै बनाउने काम भने गर्न सकिएको छैन,’ पुनले भने, ‘व्यवस्थापन गर्न सके हालको उत्पादनबाट २० प्रतिशतसम्म आलु बढाउन सकिन्छ ।’ केन्द्रको तथ्यांकमा पनि हरेक वर्ष बागलुङमा ४० हजार मेट्रिक टनसम्म आलु उत्पादन हुने गरेको छ ।

बागलुङमा हिउँदमा २३ हजार नौ सय मेट्रिक टन र बर्खामा ११ हजार ६ सय ९४ मेट्रिक टन गरी ३५ हजार मेट्रिक टन आलु बजारमा आउने गरेको छ । त्यसबाहेक घरघरमा खाने र गाउँमै बिक्री हुने आलुको तथ्यांक छैन ।

यो वर्ष खडेरी धेरै परेको र वैशाखमा असिना पर्दा आलुमा समस्या आउँदा उत्पादन घटेकाले आयात बढ्ने निश्चित छ । जिल्लामा उत्पादित आलुले वर्षको नौ महिनासम्म थेग्ने गरे पनि तीन महिनाका लागि आयात गर्नुपर्छ । त्यसका लागि भण्डारण क्षमता बढाउनुपर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख नारायण पौडेलले बताए ।