• Menu

टिप्पणी

बंगलादेशका गार्मेन्ट बायर यता आउलान् त !

नेपाल प्रफिट

२०८१ भदौ ४, ०८:१२

बंगलादेशका गार्मेन्ट बायर यता आउलान् त !

काठमाडौं । तयारी पोसाक संघका अध्यक्ष पशुपतिदेव पाण्डेले शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघको कार्यक्रममा बंगलादेशमा बढ्दो अस्थिरताले गार्मेन्टका बायरहरू यताउता लागेको मौकाको उपयोग गर्न सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा उद्योगमन्त्री दामोदर भण्डारीदेखि अर्थमन्त्री विष्णु पौड्यालसम्म थिए । सरकारका मन्त्रीहरूले अध्यक्ष पाण्डेको कुरामा कति ध्यान पुर्‍याए उनै जानुन् । तर, गार्मेन्ट उद्योगको पुनरुत्थानका लागि अहिलेको अवस्थालाई क्यास इन गर्नुपर्‍यो भन्ने अध्यक्ष पाण्डेको कुरा निकै जायज छ ।

अहिले नेपाली गार्मेन्ट व्यापार पनि सुधारको क्रममा छ । पछिल्ला तथ्यांकमा १० महिनामा झन्डै १० अर्बकै गार्मेन्ट निर्यात भएको छ । यही मौकामा नयाँ वायरलाई आश्वस्त पारे गार्मेन्टमा अर्को लहर आउन सक्छ भन्ने बुझाइ व्यवसायीहरूको छ ।

बंगलादेशको महिनौँको अशान्ति र जनविरोधले त्यहाँको गार्मेन्ट कपडा उद्योगमा व्यापक अवरोध सिर्जना गरिरहेको छ । कैयौँ अन्तर्राष्ट्रिय बायर तथा आपूर्तिकर्ताहरूले बंगलादेशबाहिर अर्डर सार्न थालिसकेका छन् ।

यस्तै लफडा नेपालमा पनि भएको थियो । माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला र २०६२/६३ को निरन्तरको बन्दले नेपाली गार्मेन्टका बायर सबै भारत र बंगलादेश सर्दा उद्योगहरू धराशयी भएका थिए ।

एक गार्मेन्ट व्यवसायीले अनुभव सुनाए- बायर जोगाउन सडकमा चक्काजाम भएका बेला हेलिकप्टरबाट वीरगन्ज गार्मेन्ट ओसारेका थियौं । तर, एउटा प्रयासले बायर कहाँ जोगिन्थे !

अहिले बंगलादेशी पीडा उस्तै छ ।

बंगलादेशका ३ हजार ५ सय गार्मेन्ट उद्योगले कुल वार्षिक निर्यातमा हुने ५५ अर्ब डलरसहित ८५ प्रतिशत हिस्सा ओगटेका छन् । अहिलेको अस्थिरताले यो उद्योग कमजोरमात्र भए बंगलादेशको नयाँ राजनीतिले धान्न सक्दैन भन्नेमा दुई मत छैन ।

त्यसैले बंगलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले गार्मेन्ट निर्यात उद्योगमा अवरोधहरू ‘सहने छैन’ भन्ने टिप्पणी गरेका छन् । उनले पश्चिमा राजदूतहरुलाई आश्वस्त पार्न प्रयास गर्दै भनेका छन्, ‘हामी विश्वव्यापी कपडा आपूर्ति शृंखलामा बाधा पुर्‍याउने कुनै पनि प्रयासलाई सहने छैनौँ ।’

युनुसले आफ्नो कार्यवाहक प्रशासनको प्राथमिकता सुनाउन ढाकामा कूटनीतिज्ञहरू र संयुक्त राष्ट्र संघका प्रतिनिधिहरूको भेलामा बोलेका थिए ।