सुर्खेत । आइतबार बिहानदेखि कर्णालीमा अवरुद्ध भएको विद्युत् सेवा अझै नियमित हुन सकेको छैन । कोहलपुर-सुर्खेतको मुख्य ३३ केभी प्रसारण लाइन अवरुद्ध हुँदा समग्र कर्णाली विद्युतविहीन बनेको हो ।
विद्युत प्राधिकरण सुर्खेत शाखाका अनुसार ३३ केभी प्रसारण लाइनको हर्रे र बबईको बीच खोलामा रूख ढलेर विद्युतको खम्बामा पर्दा तार चुँडिएर लाइन अवरुद्ध भएको हो । त्यहाँ करिब ६ वटा खम्बाको तारमा क्षति पुगेको प्राधिकरणले जानकारी दिएको छ ।
जंगलको बीचमा रुख ढलेकाले प्राधिकरणका कर्मचारी आइतबार बिहानदेखि क्षतिग्रस्त ठाउँ खोज्न हिँडे पनि बेलुका ६ बजेतिर मात्र पत्ता लागेको थियो । अहिले मर्मत गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ । विद्युत् अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ ।
विद्युत् अवरुद्ध भएपछि कर्णालीमा नेपाल टेलिकमको नेटवर्क सेवासमेत प्रभावित भएको छ । त्यस कारण फोन सम्पर्क गर्नसमेत कठिनाइ भइरहेको छ । कर्णालीमा आइतबार बिहानदेखि ठूलो वर्षासमेत भइरहेको छ । मर्मत कार्य जारी रहे पनि हालसम्म विद्युत् सेवा सञ्चालनमा आएको छैन ।
विद्युत नहुँदा कर्णालीका जाजरकोट, सुर्खेत, रुकुम पश्चिमका केही भाग, सल्यानका केही भाग, कालीकोट, जुम्ला, मुगु र दैलेखमा विद्युत् सेवा ठप्प भएको छ । कर्णालीबाट प्रकाशित हुने पत्रपत्रिकादेखि रेडियोको प्रकाशन तथा प्रसारणसमेत अवरोध भएको भेरी मालिका दैनिक जाजरकोटका कार्यकारी सम्पादक रेशमबहादुर खड्काले बताए ।