तनहुँ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँले करिब १६ हजार निजी धारा जडान गरेको छ । कार्यालयका अनुसार हालसम्म जिल्लाभर १५ हजार नौ सय ९४ वटा निजी धारा जडान गरिएको हो ।
निजी धारा जडानपछि पानी वितरण हुँदा दुई लाख ९८ हजार १६ जना उपभोक्ता प्रत्यक्ष लाभान्वित भएको कार्यालयकी इन्जिनियर बिनु लोहनीले जानकारी दिइन् । उनका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा दुई हजार निजी धारा जडान गरिएको थियो । धारा जडानपश्चात् ४ हजार ७८० जना प्रत्यक्ष लाभान्वित भएका छन् ।
हालसम्म ९२ प्रतिशत नागरिकमा शुद्ध खानेपानीको पहुँच पुर्याइएको कार्यालयले जनाएको छ । ‘सतप्रतिशत घरमा खानेपानी सेवा पुर्याउने लक्ष्यसहित कार्यालयले काम गरिरहेको इन्जिनियर लोहनीले जानकारी दिइन् । ‘कतिपय अवस्थामा पर्याप्त बजेट नहुँदा आयोजनाको काम प्रभावित हुने गरेको छ,’ उनले भनिन् ।
उनका अनुसार झाप्रेखोला कैडले खानेपानी, म्याग्देको भकुन्थोक बेलटार खानेपानी, सरङघाट, केशरी खानेपानी, व्यासको बेलटारी डिप बोरिङलगायतका केही योजना रकम अभाव र मुहान विवादका कारण सम्पन्न भएका छैनन् ।
संघीय सरकारबाट योजना ससर्त अनुदानमा २७ करोड ५० लाख र प्रादेशिक खानेपानी आयोजनातर्फ २१ करोड ९१ लाख बजेट विनियोजन भएको थियो ।
विशेष अनुदान खानेपानी आयोजनामा १४ करोड र खानेपानी सेवा विस्तार तथा पुनःस्थापना अन्तर्गत २६ करोड ६८ लाख रुपैयाँ बजेट विनियोजन भएको इन्जिनियर लोहनीले जानकारी दिइन् । उनका अनुसार कार्यालयले गत आवमा भौतिक प्रगति ९४ र वित्तीय प्रगति ९२.५१ प्रतिशत हासिल गरेको छ ।