• Menu

लमजुङमा आलु खेतीको क्षेत्रफल घट्यो, उत्पादन बढ्यो

नेपाल प्रफिट

२०८१ भदौ ३, १४:२९

लमजुङमा आलु खेतीको क्षेत्रफल घट्यो, उत्पादन बढ्यो

लमजुङ । जिल्लामा ३७ हजार आठ सय ५९ मेट्रिक टन आलु उत्पादन भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा दुई हजार दुई सय ८५ हेक्टरमा उक्त परिमाणमा आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।

केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत विजयराज पौडेलले अघिल्लो वर्षको तुलनामा आलु खेतीको क्षेत्रफल घटे पनि उत्पादन वृद्धि भएको बताए ।

अघिल्लो आव २०७९/८० मा दुई हजार ६ हेक्टर क्षेत्रफमा २१ हजार ९ सय ३९ मेट्रिक टन आलु उत्पादन भएको थियो । सूचना अधिकारी पौडेलका अनुसार आव २०७९/८० मा प्रतिहेक्टर ११ टन आलु उत्पादन भएको थियो । आव २०८०/८१ मा प्रतिहेक्टर १६.५७ टन आलु उत्पादन भएको छ ।

आव २०७८/०७९ मा एक सय हजार नौ सय ३६ हेक्टर क्षेत्रफल जमिनमा गरिएको आलु खेतीबाट २१ हजार एक सय मेक्ट्रिक टन उत्पादन भएको थियो । आव २०७७/७८ मा १९ हजार पाँच सय हेक्टर क्षेत्रफलमा आलु खेति गरिएकामा २० हजार ९ सय २९ मेट्रिक टन आलु उत्पादन भएको ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ ।

आलु खेती विस्तार गर्न ज्ञान केन्द्रले कार्यक्रम सञ्चालन गरेको छ । गत आवदेखि तीन स्थानीय तहमा खायन जातको आलु खेती विस्तार गरिएको छ । गत आवमा ज्ञान केन्द्रले सुन्दरबजार नगरपालिका–१०, राइनास नगरपालिका– ३, ४ र ६ र मध्यनेपाल नगरपालिका–४ र १० का कृषक समूहसँग सम्झौता गर्दै आलु खेती विस्तार गरेको थियो ।

निर्वाहमुखी आलु खेती गर्दै आएका कृषक गत आवदेखि व्यावसायिक हुन थालेका छन् । रैथाने र उन्नत जातको आलु उत्पादन बढी हुने भएकाले प्रदेश सरकारले गत आर्थिक वर्षदेखि खायन आलुको उत्पादन वृद्धि गर्ने गरी कार्यक्रम ल्याएको केन्द्रले जनाएको छ ।

कार्यक्रमअन्तर्गत कृषकलाई उन्नत जातको आलुको बीउ, सिँचाइ सामग्री उपलब्ध गराउने र आलु लगाउने प्रविधि हस्तान्तरण गरिँदै आएको छ । जिल्लामा आलु उत्पादन हुँदै आए पनि उपभोगका लागि बाहिरी जिल्लाबाट समेत ल्याइने गरिएको छ ।

जिल्लाको सुन्दर बजार, राइनास, बेँसीसहर र मध्यनेपाल नगरपालिकालाई हिउँदे आलु उत्पादन पकेट क्षेत्र घोषणा गरिएको छ । मर्स्याङ्दी, दुधपोखरी र क्व्हेलासोथार गाउँपालिकालाई बर्खे आलुको मुख्य पकेट क्षेत्र मानिएको छ । किसानले कार्डिनल, कुख्रेजोती, एमएम फोर्टिटुलगायत जातको आलु लगाउँदै आएका छन् ।