• Menu

पर्सामा ४६८ हेक्टर वन अतिक्रमण गरी १५ सय घरटहरा निर्माण, अतिक्रमणकारीलाई राजनीतिक आड

नेपाल प्रफिट

२०८१ भदौ ३, १४:१०

पर्सामा ४६८ हेक्टर वन अतिक्रमण गरी १५ सय घरटहरा निर्माण, अतिक्रमणकारीलाई राजनीतिक आड

पर्सा । जिल्लामा चार सय ६८ हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ । अतिक्रमण गरेर साझेदारी, सामुदायिक र धार्मिक वन क्षेत्रमा स्थानीयवासीले खेतीपाती तथा घरटहरा निर्माण गरेका हुन् ।

डिभिजन वन कार्यालयका प्रमुख सुनिलकुमार कर्णले पर्साभरि ४६८.१४९ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको जानकारी दिए । ‘स्थानीयले साझेदारी तथा धार्मिक वन कब्जा गरेर खेतीपाती तथा घरटहरा निर्माण गरेर बसिरहेका छन्,’ उनले भने ।

अतिक्रमण गर्ने स्थानीयलाई राजनीतिक दलले पनि अघोषित रूपमा समर्थन गर्ने परिपाटीले पनि वनजंगल जोगाउन समस्या भइरहेको कर्णको भनाइ छ । ‘अतिक्रमणमा परेको वन हटाउन जाँदा राजनीतिक तवरबाटै प्रतिरक्षा गर्ने गलत परम्पराको विकास भइरहेको छ,’ उनले भने ।

ठोरी गाउँपालिका वराहनजिकै रहेको वन २००.७० हेक्टर अतिक्रमणमा परेको छ । यो पर्साको सबैभन्दा धेरै अतिक्रमणमा परेको वनक्षेत्र हो ।

त्यसैगरी, गाडीमाई साझेदारी वनक्षेत्र १६७.६८ हेक्टर र मधुवन क्षेत्रको वन ३२.४७ हेक्टर स्थानीयवासीले कब्जामा लिएका छन् । सखुँवापसौनी साझेदारी वन ३३.२० हेक्टर र सबैया साझेदारी वन २२.२३ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ ।

त्यस्तै, विन्ध्वासिनी साझेदारी वन १२.०६ हेक्टर अतिक्रमणमा परेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख कर्णले जिल्लाभर अतिक्रमणमा परेको वनमा करिब एक हजार पाँच सय हाराहारी घरटहरा निर्माण भएको बताए ।

‘कार्यालयसँग पर्याप्त जनशक्ति नहुँदा पनि नियमित अनुगमन र सुपरीवेक्षण गर्न सकिरहेका छैनौँ,’ उनले भने, ‘स्थानीय प्रशासनसँगको समन्वयमा अतिक्रमणमा परेको वन फिर्ता ल्याउने प्रयास भइरहेको छ ।’

कार्यालयमा एक सय कर्मचारीको दरबन्दी भए पनि ५९ जनामात्र कार्यरत छन् । जसले गर्दा पनि नियमित वन अनुगमन र निरीक्षण गर्न समस्या भइरहेको कार्यालयको भनाइ छ ।

पर्सामा ११ हजार पाँच सय ७५ हेक्टर वनक्षेत्र छ । चारवटा सामुदायिक वन र तीनवटा साझेदारी वन छन् । साझेदारी वन ११४०९.१४ हेक्टरमा फैलिएको छ भने धार्मिक वन ३४.६३ हेक्टर छ ।

त्यस्तै निजी वन ११० हेक्टर र राष्ट्रिय वन ७.५१ हेक्टरमा फैलिएको छ । वनमा साल, खयर, मसला, टिक, सिमल, सिसो, जामुनलगायत प्रजातिका रुख छन् ।