काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विभिन्न नाममा भड्काएर राष्ट्रिय एकता भाँड्ने प्रयासलाई चिर्न खेलाडीलाई आग्रह गरेका छन् ।
नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको तेस्रो बैठकमा उनले अनेक प्रकारका शक्तिले धर्म, जात र विभिन्न नाममा राष्ट्रिय एकता भाँड्न र जनतालाई भड्काउन सक्ने भएकाले राष्ट्रिय एकतालाई कायम राख्न जोड दिएका हुन् ।
‘यति सानो देशमा हामी धेरै भाषाभाषी र जातजाति मिलेर बसेका छौँ । यो हाम्रो सम्पन्नता र जीवित सम्पदा हो,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले राष्ट्र र जनताको मन विखण्डित हुन दिनु हुँदैन । खेल क्षेत्र कुनै जात र धर्म विशेषको हुँदैन ।’
उनले जनताको शासनका रुपमा रहेको लोकतन्त्रमा विधि नमान्ने र सनकका भरमा चल्ने प्रवृत्तिले समाजलाई कहीँ नपुर्याउने बताए ।
अहिले समाजमा भ्रष्टहरुले नै भ्रष्टाचारविरोधी नाटक गरेर जनता अल्मलाउने र भ्रष्टाचार नगर्नेलाई तथानाम गाली गरेर असत्य फैलाउने काम गरिरहेको ओलीको आरोप छ ।
‘देशमा शान्ति, सुव्यवस्था र कानुनको राज नहोस् भनेर बितण्डा मच्याउन खोज्ने, सरकार र देशलाई असफल पार्ने प्रयास पनि हुन सक्छन् । तपाईँहरुले यसतर्फ पनि सचेत भएर लाग्नुपर्छ,’ उनले खेलाडीहरुलाई भने ।
अहिलेको सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायमका लागि बनेको प्रधानमन्त्री ओलीले बताए । ‘यसमा हामी शून्य सहनशीलता अपनाउँछौँ । अनुहार र मुख हेरेर कसैलाई पक्ष विपक्ष गरिँदैन । सभ्य, आधुनिक, समृद्ध र सुखी नेपालको विकासमा हामी लाग्नेछौँ,’ उनले भने ।
नेपाली खेलाडीले उत्कृष्ट खेल्न सके जितका लागि केहीले पनि नरोक्ने उनले बताए । ‘नेपाली खेलाडीले विश्वस्तरका प्रतिस्पर्धामा स्वर्ण पदक नपाउने भन्ने के छ ?’ उनले प्रश्न गरे, ‘हामी रसियाली र अरबियाली सबैसँग प्रतिस्पर्धा गर्न सक्छौँ, उत्कृष्ट र प्रतिस्पर्धी रुपमा खेलेमा हामीलाई जितका लागि केहीले पनि रोक्दैन ।’