• Menu

गण्डकीमा १७ सय हेक्टर घट्यो रोपाइँको क्षेत्रफल

नेपाल प्रफिट

२०८१ साउन ३१, १६:३०

गण्डकीमा १७ सय हेक्टर घट्यो रोपाइँको क्षेत्रफल
फाइल तस्बिर ।

कास्की । गत वर्ष गण्डकी प्रदेशमा कुल ९७ हजार सात सय ६९ हेक्टरमा बर्खे धान रोपिएको थियो । यस वर्ष भने बर्खे धान खेतीको क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टरमा समेटिएको छ ।

प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म हालसम्म ९७.५० शून्य प्रतिशत रोपाइँ सकिएको छ । ९३ हजार ६ सय ५१ हेक्टरमा रोपाइँ भइसकेको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए ।

म्याग्दी र लमजुङमा रोपाइँ सकिएको र बाँकी जिल्लामा अन्तिम चरणमा रहेको उनको भनाइ छ । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ ।

निर्देशनालयका प्रमुख रेग्मीले धान बालीको क्षेत्रफल बर्सेनि घट्दै आएको बताए । प्रदेशको कुल चार लाख ७९ हजार ६ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झन्डै एक लाख हेक्टरमा धान खेती हुने गरेको उनको भनाइ छ । नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ ।

निर्देशनालयको तथ्यांकअनुसार नवलपुरमा १८ हजार सात सय १६, कास्कीमा १६ हजार दुई सय २०, लमजुङमा ११ हजार आठ सय ७५, गोरखामा १० हजार एक सय ४०, तनहुँमा सात हजार ६ सय ७४ हेक्टरमा क्षेत्रफलमा यस वर्ष बर्खे धान लगाइएको छ ।

यस्तै स्याङ्जामा १४ हजार तीन सय ९०, पवर्तमा सात हजार पाँच सय २५, बागलुङमा पाँच हजार सात सय सात र म्याग्दीमा तीन हजार आठ सय ६ हेक्टर क्षेत्रफल धान खेतीले समेटेको छ ।

धान खेतीका लागि जिल्लामा पकेट क्षेत्र तोकिएको निर्देशनालयले जनाएको छ । गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् ।

पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोट लगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ ।  गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धान खेती गरिन्छ ।

अघिल्लो वर्षको तुलनामा धान खेतीको क्षेत्रफल घटे पनि गत वर्ष धानको उत्पादकत्व भने बढेको निर्देशनालयका प्रमुख रेग्मीले बताए । दुई वर्षअघि प्रतिहेक्टर ३.६ मेट्रिक टन धान उत्पादन भएकोमा गत वर्ष बढेर प्रतिहेक्टर ३.७३ मेट्रिक टन धान उत्पादन भएको उनको भनाइ छ ।

समयमै वर्षात् र रासयनिक मलको उपलब्धता, धानमा प्रकोपजन्य रोग नलाग्नु, सिँचाइ सुविधा, उन्न बिउविजन आदि कारणले धानको उत्पादकत्व वृद्धि भएको उनले बताए । प्रतिकूल मौसम, मल अभाव, कमसल बिउविजन जस्ता कारणले धानको उत्पादकत्वमा ह्रास आउने गरेको छ ।

धान खेतीको क्षेत्रफल घट्नुमा घरघडेरीका नाममा धानको उब्जाउ क्षेत्र नासिनु पहिलो कारण रहेको निर्देशनालयका प्रमुख रेग्मीले भनाइ छ । जग्गा बाँझो छाड्ने प्रवृत्ति र खेतीयोग्य जमिनमा बस्ती तथा पूर्वाधार विकासले गर्दा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको उनले बताए ।

‘सिँचाइ, खेती प्रणालीमा सुधार, रोककिरा नियन्त्रण, उन्नत बीउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुन सके किसानले थोरै क्षेत्रफलमा पनि धेरै धान फलाउन सक्छन्,’ निर्देशनालयका प्रमुख रेग्मीले भने ।